नेचासल्यानमा कक्षा घटुवा, बढुवा र शिक्षक सरुवा

शैक्षिक सुधारको आशा

  शिखर जंग श्रेष्ठ

सोलुखुम्बु, जेठ ५

शिक्षक तथा कक्षा व्यवस्थापनका लागि सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले शिक्षक सरुवा र कक्षा घटुवा, बढुवा र समाहितको निति लिएको छ । ४ माध्यमिक विद्यालय र ३० आधारभूत विद्यालय रहेको गाउँपालिकामा १५ आधारभूत विद्यालय कक्षा घटुवामा परेका छन् भने एक विद्यालयमा कक्षा बढुवाको निर्णय गरिएको छ । एक आधारभूत विद्यालयलाई माध्यमिक विद्यालयमा समाहित गरिएको छ ।

गाउँकार्यपालिकाको वैठकले दोदी स्थित महेन्द्रोदय आधारभूत विद्यालयलाई दोदीकै महेन्द्रोदय माध्यमिक विद्यालयमा समाहित गरिएको हो भने कक्षा ३ सम्म पढाई हुने लेब्लु स्थित जनदिव्य आधारभूत विद्यालयमा कक्षा थप गरिएको छ । जनदिव्यमा यहि शैक्षिक सत्रदेखि कक्षा ४ को पढाई हुने गरि व्यवस्थापन मिलाईएको सूचना अधिकारी यूवराज पोखरेलले जानकारी दिए ।

कक्षा ३ सम्म पढाई हुने बालकन्य आवि कामीडाँडामा इसिडि कक्षा मात्र संचालन गर्ने निर्णय गरिएको छ भने विष्णुछाँया आवि दुवाडाँडामा ईसिडि र कक्षा १ संचालन गरिनेछ । केउरेनीको रामलक्ष्मण आवि, फेदीको रुगाँस्थानी आवि, नेचाको जन्मज्योति आवि, सुर्योदय आवि र सिंहदेवी आवि पनि कक्षा घटुवामा परेका छन् । कक्षा ५ पढाई भईरहेका ती विद्यालयमा विद्यार्थी संख्या कम भएपछि कक्षा ३ सम्म पढाउने गरि कक्षा घटुवा गरिएको हो । कक्षा घटुवा पर्नेमा जनजागृती आवि, कुन्तादेवी आवि, आर्दशमिलन आवि, हिमज्योति आवि, सरस्वती आवि र चन्द्रज्योति आवि रहेका छन् ।

कक्षा ३ सम्म पढाई हुने बौद्धस्थानी आविमा एक कक्षा घटुवा गरिएको छ भने बालज्योति आवि दुई कक्षा घटुवामा परेको छ । ४ मावि सहित अन्य १२ आविलाई यथावत राखिएको छ । विद्यार्थी संख्याको आधारमा कक्षा व्यवस्थापन गरिएको गाउँपालिका अध्यक्ष डुफ कुमार बास्तोलाले बताए । गाउँपालिकाले ३१ जना शिक्षकलाई एक विद्यालयबाट अर्को विद्यालयमा सरुवा समेत गरेको छ । शिक्षक सरुवाले शैक्षिक सुधार र शिक्षकको जिम्मेवारी बहनमा परिर्वतन आउने आशा राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार