नेचामा नागरिकता शिविर

  सुमेरु संबाददाता

सोलुखुम्बु, जेठ ५

संघीयता संगै अधिकांश सेवा स्थानीय तहमा विकेन्द्रित भएपनि नागरिकताका लागि सदरमुकाम धाउनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले गाउँमै पुगेर नागरिकता सम्बन्धि सेवा प्रदान गरेको छ ।

प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगर नेतृत्वको टोलीले शनिबार नेचासल्यान गाउँपालिकाको केन्द्र नेचामा एक दिने शिविर संचालन गरि ग्रामिण भेगका नागरिकलाई नागरिकता वितरण गरेको छ ।

शिविरबाट नयाँ नागरिकता ११९ वटा वितरण गरिएको प्रशासनले जनाएको छ । ३३ जनालाई प्रतिलिपि प्रदान गरिएको छ भने ८ जनाको नागरिकता नविकरण गरिएको हो । गाउँमै प्रशासनको सेवा पाएपछि नेचासल्यानका सर्वसाधारणले खुसी व्यक्त गरेका छन् ।

शिविरकै अबसरमा औधोगिक ग्राम स्थापनाका लागि ३४ रोपनी जग्गाको अवलोकन गरिएको प्रजिअ रानाले बताए । सोहीक्रममा घरेलु तथा साना उद्योग विकास समितिको प्राविधिक सहयोग तथा नेचासल्यान गाउँपालिकाको आर्थिक सहयोगमा जारी ३ महिने खाडीको कपडा बुनाई र हाउस वायरिङ तालिमको अनुगमन समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार