तल्लो सोलु हाईड्रोको काम ७५ प्रतिशत

सुरुङमा भौगर्भिक समस्या

  सुमेरु संबाददाता

सोलुखुम्बु, जेठ ६

८२ मेगावाटको तल्लो सोलु जलविद्युत आयोजनाको ७५ प्रतिशत निर्माण पूरा भएको छ । २०७३ साउनदेखि जिल्लाको सोलु खोलामा निर्माण सुरु भएको आयोजना अन्तिम चरणमा पुगेको हो । आयोजनाको बाँध क्षेत्रको संरचना तयार भएको सोलु हाइड्रो पावर कम्पनीका कार्यकारी निर्देशक आशिष गर्गले बताए । भूमिगत डिसेन्डर बेसिन (बालुवा थिग्राउने पोखरी)मा ढलानको काम भइरहेको उनको भनाई छ ।

दैनिक १२ सय मजदुरले काम गरिरहेको आयोजनाको बाँध निर्माण सतप्रतिशत सकिएको छ । भूमिगत डिसेन्डरको काम अन्तिम चरणमा पुगेको छ । आगामी ३ महिनामा डिसेन्डर तयार हुने गर्गले बताए । आयोजनाको मुख्य सुरुङ छेडिन ८ सय मिटर बाँकी छ । ४.२ किलोमिटर लामो सुरुङमध्ये ३.४ किलोमिटर खनिसकिएको छ । बाँकी सुरुङ आगामी भदौभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

सुरुङमा भौगर्भिक समस्या

कमजोर भूगर्भका कारण लेदो माटो र पानी झरिरहेकाले कामको गति केही सुस्त भएको कम्पनीले जनाएको छ । विद्युतगृहमा सिभिल संरचना निर्माण अन्तिम चरणमा पुगेको छ । विद्युत गृहको सिभिल संरचना असारभित्र सम्पन्न गर्ने कम्पनीको दाबी छ । विद्युतगृहमा इलेक्ट्रो–मेकानिकल उपकरण जडानको काम पनि भइरहेको छ । आयोजना सम्पन्न गरेर आगामी मंसिर मसान्तदेखि विद्युत उत्पादन गर्ने योजना रहेको छ । तर, सुरुङमा देखिएको भौगर्भिक समस्याले उत्पादन अवधि ३ महिना धकेलिन सक्ने कम्पनीले जनाएको छ ।

विद्युत खेर जाने चिन्ता

आयोजनाबाट उत्पादन हुने विद्युत १३२ केभी सोलु कोरिडोर प्रसारण लाइनको तिन्ला सबस्टेसनमा जोडिनेछ । सबस्टेसन तयार भए पनि प्रसारण लाइनको कामले गति लिन नसक्दा विद्युत खेर जाने चिन्ता बढेको छ । तर प्रसारण लाइनकै कारण उत्पादित विद्युत खेर जाने अवस्था नआउने प्रसारण लाइन आयोजना प्रमुख जनार्दन गौतमले बताए । उनले तल्लो सोलुले उत्पादन सुरु गर्नु अघि गनै प्रसारण लाइन तयार हुने दाबी गरे । अबको १० महिनामा प्रसारण लाइन तयार हुने उनको भनाई छ ।

गौतमका अनुसार प्रसारण लाइनको ठेक्का सम्झौताको म्याद २०७६ माघ १७ गतेसम्मका लागि थप गरेको छ । भारतको मोहन इनर्जी कर्पोरेशनसँग भएको ठेक्का सम्झौता गत चैतमा सकिएको थियो । निर्धारित समयमा निर्माण सम्पन्न हुन नसकेपछि प्राधिकरणले म्याद थपेको हो । प्रसारण लाइनको सोलुखुम्बु र ओखलढुङ्गा खण्डको रुख कटानका लागि मन्त्रिपरिषद्को स्वीकृति आउन समय लागेकाले लक्ष्य अनुसार काम हुन नसकेको प्राधिकरणले जनाएको छ । अहिलेसम्म प्रसारण लाइनको ३ सय ३ टावरमध्ये १ सय २६ वटाको मात्रै जग खनिएको छ । २४ वटा टावर तयार भएका छन् । तार तान्ने काम सुरु भएको छैन ।

सोलु कोरिडोरमा तल्लो सोलुसँगै २३.५ मेगावाटको सोलु, ८६ मेगावाटको सोलुदूधकोसी, १८ मेगावाटको माथिल्लो सोलु, ५ मेगावाटको जुनबेंसीलगायत आयोजना निर्माणाधीन छन् । सोलुबाट गत फागुनदेखि विद्युत उत्पादन गर्ने तालिका थियो । तर, प्रसारण लाइन तयार नहुँदा सोलुको विद्युत अझै प्रणालीमा जोडिन सकेको छैन । प्रसारण लाइन तयार भइनसकेकाले आयोजनाको निर्माण गति अहिले सुस्त भएको अप्पर सोलु हाइड्रोइलेक्ट्रिक कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार