महिलालाई नेतृत्व तथा संस्थागत विकास तालिम

  सुमेरु संबाददाता

सोलुखुम्बु, जेठ १२

सोलुदुधकुण्ड नगरपालिकाले महिलाहरुको क्षमता अभिवृद्धि गर्दै सहकारीको संस्थागत विकासका लागि हप्ता दिनको तालिम प्रदान गरेको छ । आधादर्जन सहकारी तथा महिला समूहका २५ जना महिलाको सहभागीतामा संस्थागत विकासका विषयमा तालिम संचालन गरिएको हो ।

जेठ ५ देखि जारी तालिमको शनिबार समापन गरिएको छ । महिला सहकारी संस्थाका पदाधिकारीहरुले नेतृत्व तथा संस्थागत विकास तालिम फलदायी बनेको बताएका छन् । सहभागीहरुले नेतृत्व र नेतृत्वका काम, आवश्यकता पहिचान, स्रोतको परिचालन, संस्थागत विकासका पक्षहरुका विषयमा जानकारी पाएकोले आगामी दिनमा सहकारीको काममा सहज हुने बताए ।

गार्मा सहकारी, सगरमाथा सहकारी, सिंहकाली उत्थान सहकारी, हिमालचुली सृजनशील सहकारी, नवसुम्निमा सहकारी, दुधकुण्ड महिला सहकारी, लालिगुँरास सहकारी लगायतका महिलाले नेतृत्व गरेका संस्थाका पदाधिकारी सहभाी तालिममा क्षमता अभिवृद्धि, महिला हिंसाका नकरात्मक पक्ष र समाधान लगायतका दर्जनौ विषयमा छलफल गरि व्यवहारिक बनाउन अभ्यास पनि गरिएको छ ।

तालिमको समापनमा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले राज्यले अधिकांश बजेट पुर्वाधार निर्माण खर्च गर्ने गरेको यर्थाथलाई स्विकार्दै आगामी दिनमा मानव संसाधन विकासमा खर्च गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले महिलाहरु सहकारीको माध्यमबाट आर्थिक विकासमा लाग्नु सुखद भएको र नगरपालिकाले महिलाहरुको नेतृत्व र संस्थागत विकासका लागि बजेट बृद्धि गर्ने बताए ।

नगरपालिकाका प्रशासकीय अधिकृत शिवराज चौलागाईले तालिममा सिकेका कुरा वास्तविक जीवनमा उतार्न सके मात्र तालिमको प्रभावकारीता झल्कने बताए । तालिम तालिममै सिमित हुने वातावरणले राज्यको स्रोत खेर गईरहेको तर्फ संकेत गर्दै तालिम सहकारीको विकासमा फलदायी हुने विश्वास व्यक्त गरे ।

सोनालाल चौधरीले सहजीकरण गर्नुभएको तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ भने उत्कृष्ट सहभागीलाई पुरस्कृत समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार