झण्डै ६ सय आरोही शिखरमा

सगरमाथा आरोहणको सिजन सकियो

  सुमेरु संबाददाता

सोलुखुम्बु, जेठ १३

यो वर्ष आरोहण सिजनको सगरमाथा आरोहण सकिएको छ । सोमबार अन्तिम दिन झण्डै २० जना आरोही शिखरमा पुगेसँगै यो वर्षको लागि आरोहण सकिएको आधार शिविरमा खटिएका नेपाल सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए ।

अनुमति लिएका आरोही र उनीहरुका सहयोगीसमेत गरेर झण्डै ६ सय जनाले सगरमाथाको शिखर चुमेका सम्पर्क अधिकृत श्रेष्ठको भनाई छ । गएको वैशाख ३१ गते बाटो बनाउने आठ जना शेर्पाहरु शिखरमा पुगेसँगै आरोहण शुरु भएको थियो ।

यस वर्ष सगरमाथा आरोहणका लागि ४४ वटा समूहका ३ सय ८१ जनाले अनुमति पाएका थिए । आरोहीका लागि सहयोग गर्नेहरु समेत शिखरमा पुग्ने भएकोले आरोहीको संख्या दोब्बरभन्दा बढी हुन्छ । यस वर्ष सगरमाथा आरोहणका क्रममा १० जनाले ज्यान गुमाएका छन् ।

पहिलो शिविरमा पुग्ने बाटोमा हिमनदी बढ्नुको साथै माथिल्ला शिविरहरुमा पनि हिउँ पग्लिने क्रम सुरु भएकोले सोमबारबाट शिखरतर्फ जान सकिने अवस्था नरहेको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए ।

अघिल्ला वर्षहरुमा मे २९ सम्म मौसम अनुकुल रहने भएपनि जलवायु परिवर्तन लगाएतका कारण पल्लिा वर्षहरुमा हिउँ चाँडै पग्लिन थालेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार