सगरमाथा क्षेत्रबाट संकलित फोहोर प्रदर्शन

  सुमेरु संबाददाता

सोलुखुम्बु, जेठ १३

सगरमाथा क्षेत्र सफा छ भन्ने सन्देश प्रवाह गर्नका लागि सरसफाई अभियान अन्तरगत संकलन गरिएको फोहोर प्रर्दशन गरिएको छ । सोमबार नाम्चेबजारमा आयोजित एक कार्यक्रममा सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको उपस्थितीमा सगरमाथा क्षेत्रबाट संकलित फोहोर प्रर्दशन गरिएको हो ।

प्रदेश नं १ का मुख्य मन्त्री शेरधन राई, कार्यक्रममा पर्यटन राज्यमन्त्री धनबहादुर बुढा, न्यूजील्याण्डका पूर्वप्रधानमन्त्री हेलेन क्लक, सोलुखुम्बुका प्रतिनिधि सांसद हेमकुमार राई (शुरवीर) प्रदेश सांसद एवं नेकपा प्रदेश नम्बर १ का संसदीयदलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी लगाएतको उपस्थिति रहनेछ। नेपाल सरकार, खुम्बुपासाङल्हामु गाउँपालिका, नेपाली सेना, नेपाल पर्वतारोहण संघ, सगरमाथा प्रदूषण नियन्त्रण समिति र सगरमाथा राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले संकलन गरेको फोहोरको मात्रा कार्यक्रममा सार्वजानिक गरिएको थियो ।

लामो समय देखी सगरमाथा क्षेत्रमा फोहोरको मात्र बढेपनि सरसफाई नभएको भन्ने आवाज उठेपछि अभियान नै सञ्चालन गरि फोहोर संकलन र व्यवस्थानको काम थालिएको हो । सरसफाई अभियानमा १० हजार केजी फोहोर संकलन गर्ने लक्ष्य राखिएको थियो । संकलन गरिएको फोहोरमध्ये केही फोहोर यसअघि नै ओखलढुंगास्थित नेपाली सेनाको व्यारेकमा राखिएको छ भने केही फोहोर काठमाडौं लगिएको छ। बाँकी फोहोर नाम्चेमा राखिएको छ ।

कुहिने, नकुहिने, पुन प्रयोग गर्न मिल्ने र नमिल्ने गरि छुट्याइएको फोहोरलाई सोही अनुसार व्यवस्थापन गरिने खुम्बुपासाङल्हामु गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेपाले जानकारी दिए । बैशाख १ बाट सुरु भएको सरसफाई अभियान सोमबार ४५ दिन पुगेको छ । चारवटा मानव शव संकलन टोलीले आधार शिविरभन्दा माथि रहेको ४ वटा मानव शवसमेत फेला पारको छ । उक्त मानव शवलाई हेलिकोप्टरमार्फत काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगंजमा राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार