जनप्रतिनिधिले विद्यार्थी पढाउने

शैक्षिक सुधारमा सहयोगी बन्ने आशा

  सुमेरु संबाददाता

सोलुखुम्बु, जेठ १४

जनताको चाहना बमोजिम विकास निर्माणका काम गर्न निर्वाचित बनेका सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका जनप्रतिनिधिहरुले विद्यालयमा पढाउने भएका छन् । गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा मंगलबार बसेको गाउँ शिक्षा समितिको वैठकले ६ जनप्रतिनिधिलाई विद्यालय नै तोकेर पढाउन पठाउने निर्णय गरिएसंगै उनीहरुले विद्यालयमा पुगेर आफ्नो दक्षता अनुसारको विषय पढाउनेछन् ।

वडा नं ९ स्थित जनता माविमा वडाअध्यक्ष भुपाल सिं राईलाई खटाईएको छ भने वडा नं २ स्थित जीवनज्योति माविमा वडाअध्यक्ष उदयनारायण बस्नेतलाई पठाउने निर्णय गरिएको छ । गाउँ शिक्षा समितिको वैठकले वडा नं ७ स्थित देउसा माविमा सोही वडाका अध्यक्ष रामसंर्घष किराँतीलाई स्वयम्सेवक शिक्षकको रुपमा खटाईने छ भने वडा नं ६ मुक्लि स्थित विरेन्द्रद्वय माविमा कार्यपालिका सदस्य बुद्धिराज राई, देउराली आविमा कार्यपालिका सदस्य गोपाल घिमिरे र वडा नं ५ का वडाअध्यक्ष प्रेम कुमार राईलाई हिमालय मावि जुबुमा आफ्नो योग्यता, दक्षता र रुची अनुसार विद्यालयमा शिक्षक नभएर पठनपाठन रोकिएका विषय पढाउनका लागि तोकेरै निर्णय गरिएको छ ।

अन्य जनप्रतिनिधिहरुलाई पनि नजिकको विद्यालयमा गएर स्वयम्सेवकको रुपमा योग्यता, दक्षता र रुची अनुसार पढाउन र शैक्षिक व्यवस्थापन र गुणस्तरको अनुगमन गर्ने गरि निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत अविलाल राईले जानकारी दिए । जनप्रतिनिधिहरु स्वयंसेवक शिक्षकको रूपमा शिक्षण गर्ने गरि निर्णय गरिएको अध्यक्ष असिम राईले बताए । ‘कतिपय विद्यालयमा दरबन्दी अनुसारको शिक्षक नहुदा पठनपाठनमा समस्या भएको छ ।’ उनले भने, ‘जनप्रतिनिधिहरु दक्ष छन्, उनीहरुले आफ्नो दक्षता र रुची अनुसार पढाउछन् ।’ जनप्रतिनिधिहरु विद्यालयमा पुग्दा व्यवस्थापनमा समेत सुधार आउने अपेक्षा गरिएको उनको भनाई छ ।

वैठकले प्रमुख प्रशासकीय अधिकृत अविलाल राईको संयोजकत्वमा ५ सदस्यीय विद्यालय अनुगमन समिति गठन गरिएको छ भने रिक्त रहेको दरबन्दीमा गाउँपालिकाको अनुदान कोटामा करारमा शिक्षक भर्ना गर्ने निर्णय समेत गरिएको वडा नं ९ लोखिमका वडाअध्यक्ष भुपालसिं राईले जानकारी दिए । शिक्षा शाखा प्रमुखको जिम्मेवारीमा पुर्व स्रोतव्यक्ति प्रेम कुमार तामाङलाई नियुक्त गर्ने निर्णय समेत गरिएको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार