हेलिकप्टरबाट गर्भवति महिलाको उद्धार

  सुमेरु संबाददाता

सोलुखुम्बु, जेठ १५

जिल्लाको महाकुलुङ गाउँपालिका ३ छेस्कामकी एक गर्भवती महिलाको उद्धार गरिएको छ । ५ महिनाकी गर्भवती २२ वर्षिया देवीकला राईलाई कडा रक्तअल्पताको कारण उपचारमा समस्या भएपछि थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको जिल्ला अस्पताल फाप्लुका प्रमुख डा. मिङ्मार छिरिङ शेर्पाले जानकारी दिए । तीन पाउण्ड रगत दिएपनि शरिरमो रियाक्सन सुरुभएपछि जीवन बचाउन काठमाडौं रेफर गरिएको हो ।

पारिवारिक अवस्था एकदमै नाजुक भएकाले अन्यत्र उपचारमा लैजान नसक्ने भएकाले थप समस्या भएको गाउँपालिका अध्यक्ष सागर किराँतीले जानकारी दिए । गाउँपालिका र अस्पतालको आग्रहपछि प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाको पहलमा नेपाली सेनाको हेलिकोप्टरमार्फत गर्भवति महिलालाई काठमाडौं लगिएको हो ।

उनलाई ‘दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि, २०७५’ अनुसार उद्धार गरिएको हो । उनको अहिले पाटन अस्पतालमा उपचार भइरहेको छ । उक्त कार्यविधिमा लगातार लामो प्रसव व्यथा लागेका, बच्चा जन्मिन कठिनाइ भएको, गर्भमा नै बच्चाको मृत्यु भएको, गर्भ अवस्थामा हात खुट्टा शरीर सुन्निएको, अधिक रक्तश्राव भएको, रक्त अल्पता भएका महिलालाई ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको रुपमा व्याख्या गरिएको छ ।

दुर्गमका हिमाली र पहाडी ३४ जिल्ला कार्य्विधिमा उल्लेख भएअनुसार हवाई उद्धार कार्यक्रम संचालन हुने दुर्गम हिमाली तथा पहाडी जिल्लामा सोलुखुम्बु, ताप्लेजुङ, संखुवासभा, भोजपुर, पाँचथर, तेह्रथुम, खोटाङ, ओखलढुंगा, दोलखा रहेका छन्। यस्तै दार्चुला, बैतडी, बाजुरा, बझाङ, डोटी, अछाम, जाजरकोट, दैलेख, मुगु, कालिकोट, जुम्ला, हुम्ला, डोल्पा, सिन्धुपाल्चोक, गोरखा, बाग्लुङ, मनाङ, मुस्ताङ, म्याग्दी, रोल्पा, रुकुमपूर्व, रुकुमपश्चिम, सल्यान, रसुवा र धादिङ जिल्लामा पनि यो कार्यक्रम सञ्चालन हुने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार