कम्पोष्ट मल र वायोग्याँस उत्पादनको काम सुरु

  सुमेरु संबाददाता

खोटाङ, असार १

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिमामा कम्पोष्ट मल र वायोग्याँस प्लान्टको काम थालिएको छ । अर्गानिक नगर बनाउने अभियानलाई सार्थक बनाउनका लागि नेपाल सरकारले स्थानीय सरकारलाई दिने विशेष अनुदान वापतको ३ करोड ३२ लाखको लागतमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिमा–२ सोल्मामा कम्पोष्ट मल र वायोग्याँस प्लान्टको काम थालिएको हो ।

बिशेषगरी दिक्तेलबजार, सोल्मा लगायतका ठाउँबाट निस्कने सड्ने र गल्ने वस्तुलाई प्रशोधन गरेर कम्पोष्ट मल उत्पादन गर्ने तथा मानव मलमुत्रलाई प्रयोग गरेर सिएनजी (वायोग्याँस) उत्पादनका लागि करोडौंको योजनाको काम सुरु गरिएको हो । कम्पोष्ट मल र वायोग्याँस प्लान्ट निर्माणका लागि आवश्यक ट्रस आईतबार शिलान्यास गरिएको छ । सोल्मामा आयोजित कार्यक्रममा नगरपालिकाका मेयर दिपनारायण रिजालले ३५ मिटर लम्बाई र २१ मिटर चौंडाई भएको ट्रस भवन शिलान्यास गरेका हुन् ।

कम्पोष्ट मल र वायोग्याँस प्लान्टको आधुनिक उपकरण राख्नका लागि भ्याटसहित ४४ लाखको लागतमा ट्रस भवन निर्माणको काम अघि बढाइएको मेयर रिजालले बताए । उत्पादित ग्याँसलाई सिलिण्डरमा भरेर भान्छामा उपयोग गरिने छ भने बाँकी रहेको फोहोरमैलालाई पनि मलकै रुपमा प्रयोग गर्ने नगरपालिकाले जनाएको छ । कम्पोष्ट मल र वायोग्याँस प्लान्टका लागि आवश्यक ६ रोपनी जग्गामध्ये २ रोपनी जग्गा स्वयं कार्यपालिका सदस्य गंगाबहादुर बिश्वकर्माले निशुल्क उपलव्ध गराएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार