मेयर शेर्पाले दिए विद्यालयलाई ल्याबटप

  सुमेरु संबाददाता

सोलुखुम्बु, असार ६

सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङबु शेर्पाले २० वटा ल्याबटप सहयोग गरेका छन् । मेयर शेर्पाले व्यक्तिगत रुपमा नगरपालिकाको वडा नं ८ केरुङ स्थित चाँगेस्थान माध्यमिक विद्यालय र बालेश्वर माध्यमिक विद्यालयमा १०–१० वटा ल्याबटप सहयोग प्रदान गरेका हुन् । विहिबार एक कार्यक्रमको आयोजना गरि चाँगेस्थान माविमा १० वटा ल्याबटप हस्तान्तरण गरिएको छ ।

ल्याबटप हस्तान्तरणपछि मेयर शेर्पाले विद्यार्थीहरुको सिकाईलाई प्रभावकारी बनाउन आफूले ल्याबटप हस्तान्तरण गरेको बताए । उनले भने, ‘यो सहयोग व्यक्तिगत हो । आवश्यकताकै आधारमा आफूले सहयोग गरेको हूँ ।’ शैक्षिक सुधारका लागि कम्प्यूटर सिकाईमा सहज बनाउने आशा उनको छ ।

विद्यालयको आवश्यकताको आधारमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट प्राप्त ४ कोठे भुकम्प प्रतिरोधी भवनका लागि पनि चाँगेस्थान छनौट भएको शेर्पाको भनाई छ । ‘शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि र स्थानीय सरकारले आ–आफ्नो जिम्मेवारी बहन गरे मात्रै शैक्षिक सुधार संभव छ’ उनले भने ।

चाँगेस्थान माविका प्रध्यानाध्यापक रोहित कुमार कार्कीले प्राप्त ल्याबटपको सदुपयोग गरि प्रविधिको माध्यमबाट सिकाईने ज्ञान र सीपलाई थप व्यवस्थित गर्ने बताए । उनले भने, ‘मेयरसा’वले विद्यालयको आवश्यकतालाई बुझेर ल्याबटप सहयोग गर्नुभएकोमा धन्यवाद ! हामी औधि खुसी भएका छौ । विद्यालय क्षेत्र खुला भएकाले समस्या भएको भन्दै घेराबारको लागि आवश्यक बजेटको माग गर्दछौ ।’ विद्यालयमा २८ वटा कम्प्यूटर र ल्याबटप पुगेकाले सिकाईका लागि अझ सजिलो हुने प्रध्यानाध्यापक कार्कीको भनाई छ ।

बालेश्वर माध्यमिक विद्यालयमा भने केहि दिनपछि १० वटा ल्याबटप हस्तान्तरण गर्ने तयारी गरिएको छ । विद्यार्थीको मागको आधारमा ल्याबटप सहयोग गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार