सोलुका ५४ गुम्बाको पुनःनिर्माण गरिने

  सुमेरु संबाददाता

सोलुखुम्बु, असार ७

२०७२ साल बैशाख १२ को भुकम्पबाट क्षति भएका सोलुखुम्बुका ५४ वटा गुम्बाको पुनःनिर्माण गरिने भएको छ । एक नगरपालिका र ७ गाउँपालिकाका ५४ वटा गुम्बाको लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बजेट स्विकृत गरेपछि पुनःनिर्माणको काम अघि बढ्ने भएको हो ।

सोलुदुधकुण्ड नगरपालिका भित्रका १६ गुम्बा पुनःनिर्माण हुने भएका छन् भने खुम्बुपासाङल्हामू गाउँपालिकाको १२, महाकुलुङ गाउँपालिका र थुलुङ दुधकोशी गाउँपालिकाको ७–७ वटा गुम्बा पुनःनिर्माण गर्न लागिएको हो । पुनःनिर्माणको सूचीमा माप्यदुधकोशी गाउँपालिकाको ४ वटा, सोताङ गाउँपालिकाको ५ वटा, नेचासल्यान गाउँपालिकाको एक वटा र लिखुपिके गाउँपालिकाको दुई वटा गुम्बा समाबेश छन् ।

गुम्बा पुनःनिर्माणका लागि प्राधिकरणले दुई करोड ७० लाख ४५ हजार रकम विनियोजन गरेको छ । चालु बर्षमै पुनःनिर्माण गर्ने गरि बजेट आएपनि कार्यान्वयनमा समस्या देखिएको जिल्ला आयोजना कार्यान्वयन ईकाइ सोलुखुम्बुका प्रमुख विष्णु लामिछानेले बताए । जिल्ला आयोजनाले असार १२ गतेसम्म उपभोक्ता समिति गठन गरि सम्झौताका लागि सम्पर्क गर्न सूचना जारी गरेको छ ।

जिल्लाका ५४ वटा गुम्बा क्षतिको आधारमा ५ ग्रेडमा विभाजन गरि मर्मत तथा पुनःनिर्माणका लागि प्राधिकरणमा सिफारिस गरिएको थियो । सिफारिसको आधारमा दुई चरणमा रकम भुक्तानी गर्ने गरि गुम्बा पुनःनिर्माणका लागि अनुदान रकम आएको प्रमुख लामिछानेको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार