चौरीपालक कृषक पुरस्कृत

  सुमेरु संबाददाता

सोलुखुम्बु, असार १६

सोलुदुधकुण्ड नगरपालिकाले चौरीपालक कृषकहरुलाई पुरस्कृत गरेको छ । नगरक्षेत्रमा चौरीपालन गर्दै आएका कृषकहरुको मुल्यांकनको आधारमा पुरस्कृत गरिएको हो ।

विहिबार सल्लेरीमा आयोजित एक कार्यक्रमका अबसरमा २७ चौरीपालक कृषकलाई पुरस्कृत गरिएको छ । वडा नं १ टाक्सिन्दु, वडा नं २ बेनी, वडा नं ९ गोराखानी र वडा नं १० टाप्टिङ क्षेत्रका ६४ चौरीपालक कृषकको खर्कमा गरिएको सर्वेक्षणबाट उत्कृष्ट २७ कृषकलाई पुस्कृत गरिएको सूचना अधिकारी दापासा शेर्पाले बताए । सर्वेक्षणबाट एक हजार ७६८ वटा नाक, याक, चौरी, जोक्पे पालनमा रहेको तथ्यांक संकलन गरिएको छ ।

वडा नं २ बेनीका काल्देन शेर्पाले प्रथम पुरस्कार पाएका छन् । उनलाई सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले नगद २९ हजार र प्रमाणपत्र वितरण गरेका छन् । पेमा याङजी शेर्पा द्धितीय भएका छन् । उनलाई नगद २३ हजार र प्रमाणपत्र प्राप्त गरेका छन् । जिकु शेर्पाले तृतीय पुरस्कार १८ हजारको साथमा प्रमाणपत्र प्राप्त गरेका छन् । बाँकी २४ कृषकलाई १५–१५ हजारका दरले सान्त्वना पुरस्कार र प्रमाणपत्र वितरण गरिएको पशुसेवा प्राविधिक भिमलाल तामाङले जानकारी दिए ।

वडा नं ९ गोराखानीका कृषक तेन्जी शेर्पा चौरीपालन तर्फ स्थानीय सरकारले चासो देखाउनु सुखद भएको बताए । अनुगमन, प्रोत्साहन र प्रतिस्प्रर्धाले व्यवसायमा थप हौसला मिलेको उनको भनाई छ । वडा नं १ टाक्सिन्दुकी पेनी शेर्पाले चौरीपालनबाटै जिविका चलाईरहेकालाई सरकारले पनि आर्थिक तथा प्राविधिक सहयोग गर्नु हौसलाको विषय भएको बताईन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार