लघुवित्त सहित चार पसलमा चोरीको प्रयास

वित्तीय कर्मचारी मञ्चद्धारा प्रशासन कार्यालयको ध्यानाकर्षण

  सुमेरु संबाददाता

सोलुखुम्बु, असार २०

गएराती सोलुखुम्बुको सदरमुकाम सल्लेरीका एक लघुवित्त, दुई सुदचाँदी र एक किराना पसलमा चोरीको प्रयास भएको छ । करिब १ बजे सल्लेरी स्थित बसन्तबजारमा सामुदायीक लघुवित्तको कार्यालयको ताला फोरेर चोरीको प्रयास गरिएको छ । अज्ञात समूहले कार्यालयको ताला फोरेर कोठा भित्रको लकर समेत फोर्ने प्रयास गरेको लघुवित्तका प्रमुख रामकृष्ण लामाले जानकारी दिए ।

गएराती नै श्याम सुनचाँदी पसल र न्यू शुभलक्ष्मी सुनचाँदी पसलमा पनि चोरीको प्रयास गरेका छन् । चोरी संलग्न व्यक्तिहरुले पसलको ढोकामा लगाएको ताला फोरेपनि बहुमुल्य वस्तु पसलमा नभएकाले चोर्न नपाएको प्रहरी जनाएको छ । त्यस्तै, सोलुदुधकुण्ड नगरपालिका ७ जोरबौद्ध स्थित पदम श्रेष्ठको किराना पसलमा पनि चोरीको प्रयास गरिएको छ ।

एकै रात तिनवटा स्थानमा चोरीको प्रयास गरिनुलाई समूह बनाएरै चोरीमा सक्रिया भएको हुनसक्ने अनुमान गरिएको छ । चोरीको प्रयासबारे प्रहरीले अनुसन्धान थालेको छ । झण्डै एक बर्षअघि पनि सल्लेरीका ५ वटा पसलबाट एकै रात नगद र सामाग्री चोरी भएको थियो । उक्त चोरीमा संलग्न एक व्यक्तिलाई प्रहरीले पोखराबाट प्रक्राउ गरेको थियो ।

प्रशासनको ध्यानाकर्षण

वित्तीय संस्था र सुनचाँदी तथा किराना पसलमा भएको चोरीको प्रयासले सुरक्षा चुनौति थपेको भन्दै वित्तीय कर्मचारी मञ्चले प्रशासन कार्यालयको ध्यानाकर्षण गराएका छन् । ध्यानाकर्षण पत्रमा अज्ञात समूहद्धारा भएको चोरीको प्रयासमा संलग्नलाई पहिचान गरि कारबाहीको दायरामा ल्याउन माग गरिएको छ ।

पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी शाहीले चोरीको प्रयास भएको घटनाले प्रशासनको ध्यानाकर्षण भएको बताए । नागरिक सबैलाई सचेत रहन आग्रह गर्दै उनले सुरक्षा अंगलाई चुस्त पार्ने बताईन् । प्रहरी नायव उपरिक्षक शालिग्राम शर्मा पौडेलले सुरक्षाको प्रत्याभूतिका लागि नेपाल प्रहरी संवेदनशील रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार