फाप्लु विमानस्थलको समस्या समाधानमा मेयर शेर्पाको पहल

  सुमेरु संबाददाता

सोलुखुम्बु, साउन ६

सोलुदुधकुण्ड नगरपालिका ४ स्थित फाप्लु विमानस्थलमा देखिएको समस्या समाधानका लागि मेयर नाम्गेल जाङ्बु शेर्पाले सार्थक पहल शुरु गरेका छन् । धावनमार्गको माथिल्लो भागमा रहेको ग्याविङ वालसहितको सडक भासिएर पहिरोको जोखिममा बढेपछि मेयर शेर्पा नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालय पुगेर समस्या समाधानका लागि पहल शुरु गरेका हुन् ।

सोमबार प्राधिकरणका महानिर्देशक राजन पोखरेल, उपमानिर्देशक नरेन्द्रबहादुर थापा, ईन्जिनियर रत्नबहादुर श्रेष्ठ, निर्माण कम्पनीका दिनेश रिजाल, ठेकेदार कम्पनीका प्रमुख नवलविक्रम थापा र साइट ठेकेदार बुद्धि मगरसहितको उपस्थितिमा बसेको बैठकमा पहिरो गएको र भत्केको भाग मर्मत गर्ने, स्तरोन्नतीको बाँकी काम तोकिएको समयमै सम्पन्न गर्ने, टावर भवन र टर्मिनल भवन सडक छेउमा रहेकोले पश्चिमतिर सार्ने, गाडि पार्किङ बनाउने विषयमा सहमति भएको मेयर शेर्पाले सामाजिक सञ्जाल मार्फत जानकारी गराए ।

त्यस्तै, बैठकमा विमानस्थलमा दमकल र एम्बुलेन्स छिर्ने मार्ग निर्माण गर्ने, पुरानो रेडियो इकुइप्मेन्ट परिवर्तन गरी नयाँ आधुनिक रेडियो इकुइप्मेन्ट राख्ने र प्यासेन्जरहरुका लागि प्रतिक्षालय, शौचालय, खानेपानीको व्यवस्था गर्ने विषयमा पनि सहमति भएको छ । यी कामका लागि विमानस्थल सर्वेक्षण गर्न यही हप्ता प्राविधिकको टोली फाप्लु आईपुग्नेछन् ।

यसअघि विमानस्थलको जोखिमबारे समाचार बाहिर आएपछि जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको थियो । अनुगमन पछि साउन १ गते नागरिक उड्ययन प्राधिकरण, फाप्लुको माध्यमबाट ७ दिन भित्र कारण सहित उपस्थित हुन निर्माण कम्पनीलाई पत्र समेत पठाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार