‘सोलुदुधकुण्ड’मा एकपछि अर्को बेलिब्रिज

  सुमेरु संबाददाता

सोलुखुम्बु, साउन १६

सडकको पहूँच पुगेको केही बर्ष भएको तामाखानीमा लोदिङ खोलामा मोटरबेल पुल नहुदा बर्खामा सास्ती खेप्दै आएका थिए, त्यस भेगका सर्वसाधारण । उनीहरुले मात्र हैन्, ज्वालामाई देवीको मन्दिर पुग्ने दर्शनार्थीले पनि हैरान भोग्नुपर्ने बाध्यता थियो । धेरैलाई लाग्थ्यो, लोदिङ खोलामा पुल भईदिए हिड्नु पर्थेन । त्यो चाहना आज पुरा भएको छ । तामाखानीका टेक बहादुर मगरको खुसी यसरी छल्कियो । ‘उनले भने, ‘खोलामा पुल नहुदा खोलासम्म गाडीमा समान ल्यायो, त्यसपछि बोकेर लानुपर्ने बाध्यता थियो । म आँफैले पनि धेरैपटक खोलामा पुल भईदिए हुन्थ्यो, लाग्थ्यो । आज पुरा भयो ।’

उनलाई मात्र हैन, त्यसैक्षेत्रका कृष्णगोपाल भण्डारीलाई पनि खुसी लागेको छ । उनी मोटरसाईकलन तार्न साथीभाई गुहार्नुपरेको विगत सम्झन्छन् । बेलिब्रिज संचालनले तामाखानीमा अवस्थित ज्वालामाई देवी मन्दिरमा पुग्ने दर्शनार्थीलाई समेत सहज बनाउनेछ । मन्दिर नजिकसम्म सवारीसाधन लान सकिने भएकाले दर्शनार्थीमा खोलावारीबाट हिड्नुपर्ने बाध्यता पुरै हटेको छ । यसले गर्दा दर्शनार्थीको संख्यामा समेत बृद्धि हुने आशा गरिएको मन्दिरका पुजारी वीर बहादुर रेग्मी मगर बताउछन् ।

बेलिब्रिजले पर्यटकीय क्षेत्र पिकेडाँडा गन्तव्य बनाउनेका लागि पनि सहज बनाउनेछ । यता, लिखुपिके क्षेत्रबाट सल्लेरी ओहोरदोहोर गर्नेलाई पनि पहूँच भएसम्मको सडकको प्रयोग गर्न बाटो खुला गरिदिएको छ । सोलुदुधकुण्ड नगरपालिकाको वडा नं ३ लोदिङखोलामा १ करोड ६६ लाख २६ हजार ७१ रुपैयाँ निर्माण बेलीब्रिज बुधबार मेयर नाम्गेल जाङबु शेर्पाले रिवन काटेर उद्घाटन गरे ।

साउन ११ गते बेनीखोला माथी एक करोड ४२ लाखमा निर्माण गरिएको बेलिब्रिज पनि मेयर शेर्पाले नै उद्घाटन गरेका थिए । गत आर्थिक बर्ष २०७५–७६ को बजेटबाट निर्माण सम्पन्न गरिएको वडा नं ९ गोराखानी र वडा नं १० टाप्टिङ जोड्ने गरि सोल्नासा खोलामा निर्माण गरिएको बेलिब्रिजको छिट्टै उद्घाटन गरिने नगरपालिकाले जनाएको छ ।

ईन्द्रणी दावाजेभी काठमाण्डौले निर्माण गरेको ४० टन भारवहन क्षमताको ब्रिजको आयू ५० बर्ष मानिएको छ । पुल नहुदा बर्खाको समयमा खोलामा पानीको सतह बढेपछि ठूलासाना सवारी ओहोरदोहोरमा समस्या हुदै आएको थियो । उद्घाटन कार्यक्रममा मेयर नाम्गेल जाङबु शेर्पाले सडक र पुल नै विकासको मुख्य पुर्वाधार भएकाले नगरपालिकाले प्राथमिकताका साथ निर्माणको काम अघि बढाएको बताए ।

मेयर शेर्पाले तामाखानी तथा गोराखानी र टाप्टिङलाई जोड्ने सोल्नासा खोलामाथी पनि बेलिब्रिज निर्माणले नगर सम्बृद्धिको यात्रामा अघि बढिरहेको सन्देश प्रवाह गरेको बताए । उनले भने, ‘यो बर्ष शालाबेशी, रोसी, सिसा र हेवा खोलामा एक बर्ष भित्र बेलिब्रिज निर्माण गर्ने गरि काम हुदैछ, पुल र सडक नै सम्बृद्धिको दरिलो आधार हो ।’ मेयर शेर्पाले विकास निर्माण, पारदर्शिता, सुशासन र जवाफदेहिताको हिसावले नगरपालिका अन्य स्थानीय तहको तुलनामा अग्रपंक्तिमा रहेको दाबी समेत गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार