‘सोलु कम्यूनिटी हस्पिटल’ निर्माणार्थ अभियान शुरु

सहयोगका लागि अपिल

  सुमेरु संबाददाता

सोलुखुम्बु, साउन १८

सोलुदुधकुण्ड नगरपालिका ७ नाजिङमा ‘सोलु कम्यूनिटी हस्पिटल’ निर्माणार्थ अभियान शुरु गरिएको छ । आगामी २०८० सम्ममा हस्पिटल संचालनमा ल्याउने लक्ष्य सहित अभियान शुरु गरिएको शनिबार सल्लेरीमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।

अनुमानित १५ करोड लागतमा स्थापना गर्ने मुनाफा रहित हस्पिटलमा विशेषज्ञ सेवा दिईने अभियान्ता डा. राजेन्द्र बस्नेतले जानकारी दिए । ग्रामिण भेगका सर्वसाधारणलाई हाडजोर्नी, यौन तथा छाला, मेडिसिन, सर्जरी, स्त्री तथा प्रसुती, बालरोग र दन्त रोग सम्बन्धि सुलभ र गुणस्तरिय स्वास्थ्य उपचार दिलाउने द्येयले हस्पिटलको परिकल्पना गरिएको अभियान्ता डा. बस्नेतले बताए । विपन्न, असाहय र बृद्धबृद्धाहरुको उपचार सहुलीयतमा गर्ने, उपचार गर्न नसक्ने विरामीको हकमा निशुल्क उपचारका लागि अक्षय कोषको स्थापना, गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई उच्च स्वास्थ्य शिक्षाका लागि छात्रवृत्ति दिने गरि योजना तयार पारिएको छ । अन्य ७ स्थानीय तहमा हस्पिटलको शाखा विस्तार गर्ने दिर्घकालिन लक्ष्य राखिएको छ ।

एक सय बेडको हस्पिटलका लागि १२ रोपनी जग्गा प्राप्त भईसकेको छ भने बाँकी २३ रोपनी जग्गा खरिदको प्रक्रियामा रहेको छ । १२ रोपनी जग्गा सोलु हेल्थ कयर सेन्टरले खरिद गरि कम्यूनिटी हस्पिटललाई हस्तान्तरण गरिसकेको छ । हालसम्म डा. बस्नेत सहित डेन्टल तर्फ डा. योगेन्द्र बस्नेत, जनरल सर्जन डा. प्रकाश शाह कम्यूनिटी हस्पिटलमा बसेर नागरिकको सेवा प्रतिबद्ध रहेका छन् । उनीहरुले ग्रामिण भेगमा बसेर विशषेज्ञ सेवा दिन प्रतिबद्धता व्यक्त गरिसकेका छन् ।

हस्पिटल निर्माणको लागि आवश्यक बजेट देश विदेशमा संचालन गरिने अभियानबाट संकलन गरिने बताईएको छ । सहयोगका लागि सेन्चुरी बैँक शाखा सल्लेरीमा रहेको खाता नं ०६१–००–००–१०७ मा जम्मा गर्न सकिने व्यवस्था मिलाईएको छ । दुर्गम भेगका नागरिकलाई सस्तो तर गुणस्तरिय स्वास्थ्य उपचार प्रदान गर्ने लक्ष्य सहित थालिएको अभियान निरन्तर चलिरहने भएकाले आर्थिक संकलनका लागि रणनिति बनाईरहेको अभियान्ताहरुको भनाई छ ।

अभियान्ता डा. बस्नेतले भने, ‘आर्थिक लगानीका लागि बहुउद्देश्यिय सहकारी र बीमा निति ल्याउने विषयमा छलफलमा छौ । नेपालमा यसअघि पनि सामुदायीक अस्पतालहरु सफल देखिएकाले सोलु कम्यूनिटी हस्पिटल निर्माण र संचालनको अभियानमा पनि सफल हुने विश्वास लिएका छौ ।’ उनले हस्पिटल निर्माणमा हातेमालो गर्न सरोकारवालालाई अपिल समेत गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार