मोटरेबल पुलका लागि बजेट माग

सञ्चारसेवाको क्षमता बृद्धि गरिने

  सुमेरु संबाददाता

सोलुखुम्बु, साउन १८

चक्रपथको अवधारणा सहित सडक विस्तारको काम गरिरहेको सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले हुँगा नदि सहित अन्य खोलाहरुमा मोटरेबल पुल निर्माणको लागि प्रदेश र संघ सरकारसंग आवश्यक बजेट माग गरेको छ । गाउँपालिका अध्यक्ष सागर किराँतीको एक टोलीले १ नं प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई भेट गरि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भईसकेका ५ वटा मोटरेबल पुलका लागि बजेटको व्यवस्थापन गरिदिन माग गरेको छ ।

साउन ९ गते मुख्यमन्त्री राईलाई भेटेको टोलीले गाउँपालिकाको बजेटले डिपिआर तयार पारेको र पुल निर्माणको लागि स्थानीय तहको स्रोतले नभ्याउने भएकाले प्रदेश सरकारले चासो दिनका लागि आग्रह गरेको छ । बजेट व्यवस्थापन सम्बन्धि माग पत्र बुझ्दै मुख्यमन्त्री राईले दुर्गम भेगका नागरिकको सहजताको लागि प्रदेश सरकारले सहयोगको आश्वासन दिएको अध्यक्ष किराँतीले जानकारी दिए । गत आर्थिक बर्ष २०७५–७६ को १० लाख बजेटबाट ५ वटा मोटरेबल पुलको डिपिआर तयार पारिएको छ । उक्त डिपिआर माग पत्र संगै बुझाईएको छ ।

गाउँपालिकाले ५ वटा नदि तथा खोलामा पुल निर्माणको लागि संघ सरकारसंग पनि बजेटको माग गरेको छ । साउन १५ गते संघीय सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका मन्त्री रघुवीर महासेठलाई भेटेर डिपिआरको आधारमा बजेटको व्यवस्था मिलाईदिन आग्रह गरेको छ । भेटमा मन्त्री महासेठले प्राविधिकहरुसंग सल्लाह गरेर बजेटको व्यवस्थापन गर्ने आश्वासन दिएको गाउँपालिका अध्यक्ष किराँतीले जनाए ।

गाउँपालिकाले वडा नं ३ स्थित हुगाँ नदि, वडा नं २ स्थित भूवाखोला र फूलवति खोला, वडा नं ३ र ४ को सिमाना भएर बग्ने कोङखो खोला र वडा नं ५ स्थित बुदुम खोलामा मोटरेबल पुल निर्माणको योजना बनाएको छ । ति ५ स्थानमा मोटरबेल पुल निर्माण गर्न सके मात्र महाकुलुङ चक्रपथले पुर्णता पाउने अध्यक्ष किराँतीको भनाई छ ।
बुङ, छेस्काम, मार्मेकु, गुदेल समाबेश गरि चक्रपथ निर्माणमा जुटेको गाउँपालिकाले सडक विस्तारको ७० प्रतिशत काम सम्पन्न गरिसकेको छ । बुङबाट शुरु भएको सडक विस्तारको काम पेल्माङ, छेस्काम, मामेर्कु हुदै कोङखो खोलामा पुगेको गाउँपालिकाले जनाएको छ ।

महाकुलुङ गाउँपालिकाले छेस्काम र गुदेलमा रहेको नेपाल टेलिकमको टावर र क्षमता अभिबृद्धिका लागि पनि माग राखेको छ । साउन १ गते टेलिकमका वायरलेस निर्देशनालयका निर्देशक सरोजमान सिं प्रधानलाई भेटेर टावर र क्षमता अभिबृद्धिका लागि माग पत्र बुझाईएको छ । गाउँपालिका अध्यक्ष सागर किराँती र पशुसेवा शाखा प्रमुख डा. विर्खराज राई सहितको टोलीले छेस्काम र गुदेलबाट वितरित सेवा टुजीबाट फोरजी बनाउने र १५ मिटर अग्लो टावर निर्माण गर्न माग राखेको हो ।

अहिले छेस्काममा ७ मिटर र गुदेलमा ५ मिटर लग्लो टावरबाट मोबाईल सेवा वितरण गर्दै आईएको छ । आगामी ६ महिना भित्र क्षमता थप र पुर्वाधार निर्माणमा टेलिकम प्रतिबद्ध देखिएको डा. विर्खराज राईले बताए । दिगो ब्याकअप नहुदा र क्षमता कम हुदा महाकुलुङका सर्वसाधारणले बाक्लो रुपमा सञ्चार हैरानी झेल्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार