मकै उत्पादनमा ६० प्रतिशतले गिरावट आउने अनुमान

राहतका लागि समन्वय र छलफल जारी

  सुमेरु संबाददाता

सोलुखुम्बु, साउन १८

असारको अन्तिम साता अबिरल बर्षासंगै आएको हावाहुरीले सोलुदुधकुण्ड नगरपालिका क्षेत्रका पौने ४ सय हेक्टरमा लगाईएको मकैबालीमा क्षति पु¥याएको अनुगमनपछिको तथ्यांकले देखाएको छ ।

नगरपालिकाको बेनी, तामाखानी, फाप्लु, सल्लेरी, दोर्पु, खोरिया, गार्मा, केरुङ, गोराखानी, टाप्टिङ, तिङला लगायतका क्षेत्रमा ९६० घरपरिवारले ३८७.५ हेक्टरमा लगाएको मकैमा क्षति पु¥याउदा ४२२ मेट्रिक टन मकै उत्पादनमा ह्रास आउने भएको छ । हावाहुरीले मकैमा क्षति पु¥याएको भन्दै कृषकहरुले राहतको माग गर्न थालेपछि सोलुदुधकुण्ड नगरपालिकाले अनुगमन थालेको थियो । हप्ता दिन भन्दा बढि समय लगाएर गरिएको क्षति मुल्यांकनबाट हावाहुरीले पु¥याएको क्षतिको अनुमानित तथ्यांक बाहिर ल्याईएको हो ।

कृषि प्राविधिक रस्विन मगरले दिएको जानकारी अनुसार हावाहुरीले वडा नं ८ केरुङमा लगाईएको मकैमा सबैभन्दा बढि क्षति पु¥याएको छ । २५३ कृषकले ११९.४ हेक्टरमा लगाईएको मकै बालीमा क्षति पुगेको छ । वडा नं १० टाप्टिङमा ३३७ कृषकले ११०.३ हेक्टरमा लगाएको धानचमर हाल्न लागेको मकैबालीमा क्षति पुगेको छ । वडा नं २ मा १० कृषकको ४.८ हेक्टर, वडा नं ३ मा ७९ कृषकको २० हेक्टर, वडा नं ४ मा ७२ कृषकले ३६.९ हेक्टरमा लगाएको मकै हावाहुरीले ढलाएको छ । वडा नं ५ मा ३१ कृषकको ११.३ हेक्टर, वडा नं ६ मा ३६ कृषकको २८.४ हेक्टर, वडा नं ७ मा १० कृषकको ४.५ हेक्टर र वडा नं ९ मा १०९ कृषकको ४५.३ हेक्टरमा लगाएको मकैको बोट सोत्तर पारेको कृषि प्राविधिक मगरको भनाई छ ।

क्षतिको मुल्यांकनमा ४ जना कृषि प्राविधिक खटेका थिए । वडा नं २, ९ र १० मा प्रविन बस्नेत, वडा नं ३ र ४ मा दुर्गादेवी बास्तोला, वडा नं ६, ७ र ११ मा मिङमारडोमा शेर्पा र वडा नं ३, ५ र ८ मा रस्विन मगर खटेका थिए । ११ वडा रहेको नगरपालिकामा वडा नं १ टाक्सिन्दु क्षेत्रमा कृषकले लगाएको मकै सग्लो रहेकाले मकै उत्पादनमा ६० प्रतिशतले ह्रास आउने अनुमान गरिएको छ । कृषि प्राविधिक मगरले भने, ‘फिल्डमा गएर हेर्दा चित्तदुख्दो तरिकाले मकै भुँईमा सतेको छ । अब उठ्ने संभावना देखिदैन् ।’

क्षतिको तथ्यांक आएसंगै कृषकलाई राहत दिलाउन नगरपालिकाले गृहकार्य शुरु गरेको छ । नगरपालिका आँफैले दिनसक्ने राहत निक्यौल गर्ने र क्षतिको विवरण सहित विश्व खाद्य कार्यक्रममा समेत राहतका लागि पहल गर्ने काम भईरहेको मेयर नाम्गेल जाङबु शेर्पाले बताए । ‘कृषकहरुको मर्कालाई बुझेर राहत व्यवस्थापनमा जुट्दैछौ ।’ मेयर शेर्पाले बताए । हावाहुरीले बर्षभरी खाने मकै बालीमा क्षति पु¥याएपछि यसअघि केहि गाउँका कृषकहरुले राहतको माग गर्दै स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालय गुहारेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार