गायक भुवन सिं राई सम्मानित

  सुमेरु संबाददाता

सोलुखुम्बु, साउन २७

जिल्लाका पुराना गायक सम्मानित भएका छन् । २०५३ साल देखि गीत रेकर्ड थालेका नेचासल्यान गाउँपालिका ३ नेचाका भुवनसिं राई सल्लेरीमा सम्मानित भएका हुन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपालको दोस्रो जिल्ला अधिबेशनको अबसरमा गायक राईलाई नगद पाँच हजार पाँच नगद, घरेलु उत्पादन ढाकाको दोसल्ला र सम्मानपत्र सहित प्रतिष्ठानका केन्द्रिय सदस्य तथा प्रदेश १ नं संयोजक शिव हमालले सम्मान गरिएको हो ।

सम्मानित भएका राई २०५३ सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी लोक गीत प्रतियोगीतामा ‘उत्कृष्ट दश’मा समाबेश भएका थिए । त्यसबेला स्वर परीक्षा पास भएको प्रमाण–पत्र पाएका गायक राईले ‘नेचा गाउँको डाँडैडाँडा’, ‘लेकलेकै फुल्ने गुँरासे’, ‘घर हाम्रो नेले’, ‘रुख सुक्यो’, ‘हातमा कुटो कोदालो’, ‘जे जे माग्यौ त्यहि दिएँ’, ‘धर्तिकै लागि’ लगायतका आधादर्जन बढि लोक, आधुनिक तथा राष्ट्रिय भावका गीतहरु गाएका छन् ।

आर्थिक अभावकै कारण गाउँमै कृषि कर्म गर्दै आएका गायक राईले छिट्टै ‘म हूँ देशभक्ति’ बोलको राष्ट्रिय भावको गीत रेकर्डको तयारीमा देखिएका छन् । सम्मान–पत्र ग्रहण गर्दै गायक राईले भने, ‘पारिवारिक कारणले गीतसंगीतमा जम्न सकिन, दुखले जति गीत रेकर्ड गराएँ तर भनेजस्तो प्रचार गर्न सकिन ।’ सम्मानले गीतसंगीतमा योगदानका लागि ऊर्जा दिलाएको उनले बताए । ‘यो नै मेरो पहिलो सम्मान हो, जुन अविस्मरणीय रहनेछ’ भावुक मुद्रामा गायक राईले भने ।

अधिबेशनको अबसरमा जिल्लाका अग्रज संगीतकर्मी सम्मानबाट सम्मानित गर्ने अभियान शुरु गरिएको प्रतिष्ठान सोलुका अध्यक्ष शिखर जंग श्रेष्ठले जानकारी दिए । ‘जिल्लामा जन्मेर नेपाली संगीतमा योगदान दिएका सष्ट्रा/कलाकार पहिचान गरि सम्मानित हुने वातावरण तयार पार्नेछौ ।’ अध्यक्ष श्रेष्ठले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार