भालुको रेस्क्यू

  सुमेरु संबाददाता

सोलुखुम्बु, भदौ १०

मकैबाली जोगाउन सोलुदुधकुण्ड नगरपालिका–३ तामाखानीका कृषकले थापेको पासोमा फसेको एउटा भालुको रेस्क्यू गरिएको छ । डिभिजन वन कार्यालयको पहलमा काठमाण्डौबाट आएको एक टोलीले तिन देखि पासोमा फसेको भालुको सोमबार रेस्क्यू गरेको हो । टोलीले भालुलाई तिन वटा लठ्याउने सिरिन्ज लगाएपछि पासोबाट रेस्क्यू गरिएको हो । भालुको पेटमा सामान्य चोट लागेको छ । रेस्क्यू गरिएको भालु तत्कालका लागि काठमाण्डौ चिडियाखाना लैजाने र उपचारपछि बुटवल पठाउने तयारी भएको डिभिजन वन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

हरेक दिन भालुले छिप्पिदै गरेको मकैमा क्षति पु¥याउन थालेपछि भालु नियन्त्रणका लागि कृषकले गौडामा पासो थापेका थिए । सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पा, प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल, प्रहरी नायव उपरिक्षक नारायण प्रसाद चिमोरिया, डिभिजन वन अधिकृत डा. ईन्द्र प्रसाद सापकोटा सहित उपस्थित रहेको भेलामा तामाखानीबासीले भालु नियन्त्रणको चर्को माग राखेका छन् । उनीहरुले भालुको आक्रमणबाट घाईते र घाईतेका परिवारलाई पालनपोषण र शिक्षादिक्षामा सहयोग गर्नुपर्ने, भालुले पु¥याएको क्षतिअनुसार क्षतिपुर्तिको व्यवस्था मिलाउनुपर्ने, विद्यमान कानुन संशोधनका लागि पहल गर्नुपर्ने, भालुलाई चिडियाखाना तथा संरक्षित क्षेत्रमा लैजानुपर्ने लगायतका दर्जनौ माग राखेका छन् । साथै स्थानीयले भालु आतंक क्षेत्र घोषणाका लागि समेत माग गरे ।

नागरिकको गुनासो सम्बोधन गर्दै मेयर नाम्गेल जाङबु शेर्पाले क्षति अनुसार राहत उपलब्ध गराउने र वन्यजन्तु व्यवस्थापनमा आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । डिभिजन वन अधिकृत डा. ईन्द्र प्रसाद सापकोटाले भालुको आक्रमणबाट बचाउनका लागि पुर्वतयारीका कार्यक्रम संचालनका लागि सहयोग गर्ने र घाईतेको उपचारका लागि राहत रकम यथासिघ्र उपलब्ध गराउनका लागि पहलकदमी लिने बताए ।

बर्षेनी हुने भालुको आक्रमणबाट दर्जनौ कृषक घाईते हुनुपरेको छ भने भालुले लाखौको मकैबाली नष्ट गर्दै आएका छन् । यसवापत् घाईते सामान्य राहत रकम पाएपनि बालीनालीको क्षतिपुर्ती पाएका छैनन् । अघिल्लो बर्ष भालुको आक्रमणबाट जिल्लाभर ९ जना गम्भिर घाईते भएका थिए भने यो बर्ष दुई कृषक भालुको आक्रमणमा परिसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार