गार्मा सामुदायीक हल संचालनमा

  सुमेरु संबाददाता

सोलुखुम्बु, भदौ १३

सोलुदुधकुण्ड नगरपालिका ७ गार्मामा निर्मित जिल्लाकै ठूलो सामुदायीक हल उद्घाटन गरिएको छ । अष्ट्रेलियन हिमालयन फाउण्डेशनको आर्थिक सहयोग तथा रीड नेपालको प्राविधिक सहयोगमा गार्मा माध्यमिक विद्यालय परिसरमा निर्माण सम्पन्न गरिएको गार्मा सामुदायीक हलको नेपालका लागि अष्ट्रेलियाका राजदुत पिटर बडले रिवन काटेर उद्घाटन गरेका हुन् । ९२ लाख ४८ हजारको लागतमा निर्माण सम्पन्न भएको हलमा पाँच सय व्यक्ति अट्न सक्ने क्षमता रहेको छ ।

उद्घाटन कार्यक्रममा नेपालका लागि अष्ट्रेलियाका राजदुत पिटर बडले ग्रामिण भेगमा समुदायको सक्रियतामा सामुदायीक हल निर्माण गर्नुले दशकौ देखिको नेपाल–अष्ट्रेलिया सम्बन्धलाई अझ मजबुत बनाएको बताए । उनले बर्षेनी ३० हजारको हाराहारीमा अष्ट्रेलियाली नागरिक भ्रमण र विकासका क्रियाकलापमा सहभागी बन्नका लागि नेपाल आउने र एक लाखको हाराहारीमा नेपाली विद्यार्थी अध्ययन र रोजगारीका लागि अष्ट्रेलिया पुगेकाले दुई देशबीचको सम्बन्धलाई सौर्हादपुर्ण वातावरणमा चलिरहेको बताए ।

कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले नेपाल–अष्ट्रेलिया सिधा हवाई उडानका लागि पहल गर्न राजदुत बडलाई आग्रह गरे । हवाई उडान शुरु भए दुई देशमा आवतजावतका लागि सहज हुने र नेपालमा पर्यटकको संख्या बृद्धिमा सहयोग पुग्ने बताए । रीड नेपालका अध्यक्ष भिम बोगटीले हललाई विद्यालय र समुदायको हितमा प्रयोग गर्न सुझाव दिए । उनले प्राकृतिक विपत्तीका बेला पनि समुदायका नागरिकलाई सुरक्षित रहन प्रयोग गर्न सकिने बताए ।

प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल, प्रहरी नायव उपरिक्षक नारायण प्रसाद चिमोरिया लगायतको उपस्थितीमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक विनोद सिं तामाङले सामुदायीक हललाई शैक्षिक क्रियाकलाप र समुदायमा हुने साना–ठूला कार्यक्रम संचालनका लागि प्रयोग गर्ने बताए । राजनितिक कार्यक्रम भने प्रतिबन्ध लगाउने प्रध्यानाध्यापक तामाङको भनाई छ ।

अष्ट्रेलियन प्रविधिबाट हल बनेपछि अभिभावकले खुसी व्यक्त गरेका छन् भने घामपानीमा पनि शैक्षिक क्रियाकलाप सम्पन्न गर्न सकिने भएपछि विद्यार्थीहरु उत्साहित बनेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार