लोपन्मूख संगिनी नाच नाचियो तिङलामा

  सुमेरु संबाददाता

सोलुखुम्बु, भदौ १६

हिन्दु नारीहरुले हरितालिका तिज मनाईरहँदा यसको मुख्य पाटोको रुपमा रहेको संगिनि नाच भने लोपोन्मुख अवस्थामा पुगेको छ । भड्किलो तरिकाले मनाईन थालिएको तिजमा पश्चिमा संस्कार भित्रिरहँदा सोलुखुम्बुको तिंलाका महिलाले भने संगिनी नाच जोगाउने अभियान शुरु गरेका छन् ।

महिलाद्धारा गीत गाएर नाची–नाची खेल्ने एक परम्परागत नृत्य संगिनी नाचमा महिला दिदीवहिनीहरुको पिरव्यथा, वेदनाका कुरालाई गीत र लयमा परिणत गरि ताली बजाई नाच्ने र गाइने गरिन्छ । वरिपरी गोलो घेरामा एक आपसमा हात जोडि वरिपरी घुम्दै गाउंदै नाच्दै गरिने यो संगिनी अचेल विरलै देख्न पाईन्छ । तिज संस्कृतिको आधुनिकता सँगै परापुर्वककाल देखि नाचिँदै आएको लोपन्मुख संगिनी नाच जगेर्नामा सोलुखुम्बुका महिला जुर्मुराएका छन् ।

सोलुदुधकुण्ड नगरपालिका ११ तिङलास्थित सिंहकाली महिला उत्थान कृषि सहकारी संस्थाले तिजको अबसरमा प्रतियोगिता कै आयोजना गरेको छ । बर्ष भरिकोका कामको थकान, पारिवारिक तनाव र सबै किसिमको विरक्ततालाई भुल्नका लागि साथि अर्थात संगिनी भेला भएर वेदना पोख्ने नाच संगिनि गाएर बुढ्यौली पुस्ता नाच्दा नयाँ पुस्ताले पनि चाख दिएका छन् । स्थानीय ७० बर्षिय लक्ष्मि विश्वकर्मा सासु बुहारी, माईति चेली, सालीभेलाका दोहोरो कुराकानी गर्ने परम्परा भएको बताउछिन् ।

आधुनिकताको विकास सँगै नेपाली समाजले मौलिक पहिचान भने विर्सदै गएको छ । डिस्को र डान्सले संगिनि र मारुनीलाई प्रतिस्थापन गर्दै गएको वर्तमानमा परम्परागत संस्कृतिको जगेर्ना गर्नलाई स्थानीय सरकार पनि लागि परेको देखिन्छ । सोलुदुधकुण्ड नगरपालिकाकी उपप्रमुख कल्पना राईले जातीगत भाषा संस्कृतिको जर्गेनाको लागि नगरपालिकाले बजेटकै व्यवस्था मिलाउदै आएको बताउछिन् । उनले भनिन्, ‘हरेक जातजातीको संस्कृती संरक्षणमा हातेमालो गर्दै आएका छौ । नगरले सांस्कृतिक पर्व मनाउनका लागि ५०–५० हजारका दरले बजेट व्यवस्थापन गर्दै आएका छौ ।’

जातीय, धार्मिक र सांस्कृतिक विविधताको समाजमा भएका अनेकाँ परम्परागत संस्कृती नयाँ पुस्तामा हस्तान्तरणका लागि स्थानीय सरकारले स्थानीय पाठुयक्रममा समाबेश गरि पठनपाठन गर्न सक्नुपर्ने सरोकारवालाहरु बताउछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार