अधिक रक्तश्रावपछि अधैचेत भएकी महिलाको उद्धार

  सुमेरु संबाददाता

सोलुखुम्बु, भदौ १८

सोलुखुम्बुको गुदेलकी एक गर्भवति महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । प्रसव व्यथापछि रक्तश्रावको कारणबाट ज्यानकै जोखिममा परेकी महाकुलुङ गाउँपालिका ५ गुदेलकी ३९ बर्षिय निर्मला राईलाई बुधबार साँझ लागि हेलिकप्टर मार्फत काठमाण्डौ पठाईएको हो ।

महाकुलुङ गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरि प्रसाद आचार्यका अनुसार पाँचौ पटक प्रसव वेदनापछि अधिक रक्तश्रावको पिडामा परेकी ती महिलाको उद्धार गरिएको हो । ‘उनको ६ बर्षअघि शल्यक्रियाको माध्यमबाट बच्चा जन्माईएको थियो । नियमित गर्भपरिक्षणको समयमा जटिलता आउनसक्ने जानकारी गराएपनि गाउँमै बस्दा रक्तश्रावको समस्या झेल्नुपरेको हो ।’ स्वास्थ्य संयोजक आचार्यले भने ।

स्वास्थ्यचौकी गुदेलले जटिल अवस्थाको संकेत गर्दै अन्यत्र जान सुझाव दिएको र प्राथमिक स्वास्थ्य केन्द्र सोताङले समेत जिल्लाबाहिरका सुविधासम्पन्न स्वास्थ्य संस्थामा प्रसुती गराउन सुझाव दिएपनि राईले स्वास्थ्यकर्मीको सल्लाह नमानेर जोखिम मोलेकी थिईन् ।

बुधबार विहान प्रसब व्यथाले च्यापेपनि उनी दिउँसो मात्र अर्धचेत अवस्थामा स्वास्थ्य चौकी गुदेल पुगेको स्वास्थ्यकर्मीको भनाई छ । स्वास्थ्यकर्मी र जिल्ला प्रशासन कार्यालयको समन्वय र सक्रियतामा राष्ट्रपति महिला उद्धार कार्यक्रम अन्तरगत हेलिकप्टर झिकाई थप उपचारका लागि काठमाण्डौ स्थित टिचिङ हस्पिटल लगिएको छ ।

यसअघि चार सन्तानलाई जन्म दिएकी राईको दुई सन्तानको मृत्यू भईसकेको छ । स्थानीय स्वास्थ्यकर्मीका अनुसार पेटमा रहेको बच्चा चल्न छोडेको छ । आमा अर्धचेत अवस्थामा छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार