महिनौ देखि प्रशासन कार्यालय बन्द हुदा सेवाग्राहीलाई सास्ति

  सुमेरु संबाददाता

सोलुखुम्बु, भदौ १९

सोलुखुम्बुको माथिल्लो क्षेत्र खुम्बुमा प्रशासनिक कामकाजका लागि स्थापना गरिएको सिमा प्रशासन कार्यालय महिनौ देखि बन्द हुदा सेवाग्राहीले सास्ति खेप्नुपरेको छ ।

अधिकृत तहको एक र कार्यालय सहयोगी गरि दुई जना कर्मचारी कार्यरत कार्यालयमा लामो समय देखि कार्यलय प्रमुख विदामा बसेपछि नागरिकता वितरण तथा राहदानी सिफारिसमा समस्या भएको छ । सोही कामका लागि खुम्बुका सर्वसाधारण तिन दिनको बाटो हिडेर सल्लेरी धाउनुपर्ने बाध्यता छ । कार्यालय प्रमुख नवदिप राईले परिक्षा दिन भन्दै साउनको मध्यतिर खुम्बु छाडेको र कार्यालय सहयोगी समेत एक हप्ता देखि काठमाण्डौ रहेकाले सेवाग्राहीले सास्ति खेप्नु परेको हो ।

अहिले नागरिकता बनाउनका लागि सल्लेरी झर्नुपर्ने बाध्यता रहेको छ भने प्रतिलिपि बनाउनका लागि पुरानो रेकर्ड हेर्ने कर्मचारी समेत नहुदा सल्लेरीको बसाई लम्बिएको एक सेवाग्राहीले गुनासो गरे । स्थानीयहरुले तिन महिना देखि सिमा प्रशासन कार्यालयका प्रमुख नरहेको गुनासो गरेका छन् तर कार्यालय सहयोगी पेम्बाछिरी शेर्पाले एक महिना देखि कार्यलय प्रमुख विदामा रहेको स्विकार गरे । उनले भने, ‘भदौको पहिलो हप्ता आउछु भन्नुभएको थियो । अहिलेसम्म आउनुभएको छैन् ।’ उनले आफू पनि घरायसी काम परेकाले विदामा काठमाण्डौ रहेको बताए ।

कार्यलय प्रमुख परिक्षाका लागि विदामा बसेको भनिएपनि कुनैपनि निकायमा आधिकारिक विदा स्विकृत गराएको जानकारी छैन् । जिल्ला प्रशासन कार्यलयमा समेत विदा बारे लिखित जानकारी नभएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए । गृह मन्त्रालयमा बुझ्दा नवदिप राईले अन्यत्र जानका लागि सहमति लिईसकेको जानकारी पाएको प्रजिअ खनालले बताए । उनले भने, ‘राईको टेलिफोन अफ छ । यर्थाथ पत्ता लगाउने गरि खोजी कार्य शुरु गर्नेछु ।’

खुम्बुपासाङल्हमू गाउँपालिकाले पनि कुनै जानकारी नपाएको बताएको छ । प्रवक्ता ल्हाक्पाछिरी शेर्पा कार्यालय बन्द हुदा सर्वसाधारणले दुख पाएको विषयमा जानकार भएपनि सिमा प्रशासनले स्थानस्य सरकारसंग कुनैपनि समन्वय नगरेको बताए । भौगौलिक कठिनाईका कारण त्यस भेगका नागरिकलाई प्रशासनिक सेवा दिन स्थापना गरिएको सिमा प्रशासन कार्यालयमा नियमित कर्मचारी नबस्दा त्यस भेगका नागरिक पटक पटक सल्लेरी झर्नुपर्ने बाध्यता सृजना हुदै आएको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी नहुदा कामको चाप हेरेर सिमा प्रशासन कार्यालयका प्रमुखलाई झिकाई जिम्मेवारी दिदै आईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार