गाउँ चिटिक्क बनाउने अभियानमा स्थानीय र जनप्रतिनिधि

म्याद गु्ज्रिएका सामान बिक्रिमा रोक

  सुमेरु संबाददाता

सोलुखुम्बु, भदौ १९

समुदाय विकासका काममा श्रमदान पात्लिदै आएपनि सोलुुखुम्बु लोखिमका जनप्रतिनिधि र स्थानीय भने भलबाढिले बिगारेको सडक तथा गोरेटो बाटो मर्मत तथा सरसफाईमा व्यस्त देखिएका छन् । थुलुङ दुधकोशी गाउँपालिका ९ लोखिमका जनप्रतिनिधि र स्थानीयले चाडपर्व नजिकिदै गर्दा बर्खामा अबरुद्ध तथा भलबाढिले खोलेका सडक तथा गोरेटो बाटो सरसफाई तथा मर्मत थालेका हुन् ।

भदौ ५ गते बसेको वडाको वैठकले गरेको निर्णय अनुसार जनप्रतिनिधि र स्थानीय सडक मर्मत तथा सरसफाई कार्यमा श्रमदान गरिरहेका छन् । वडालाई उदाहरणीय बनाउने द्येयका साथ गोरेटो बाटो वरिपरीका बुट्यान हटाउन र सडक सफा गर्न स्थानीय उत्साहित देखिएका छन् ।

म्याद गु्ज्रिएका सामान बिक्रिमा रोक

जनप्रतिनिधिहरुको वैठकले उपभोक्ताको स्वास्थ्यलाई ख्याल राख्दै वडा भित्र संचालित होटल पसलले म्याद गुज्रिएका सामाग्री बिक्रि गर्न नपाउने नियम लागु गरिएको छ ।
नियम कार्यान्वयनका लागि वडाअध्यक्ष भुपालसिं राईको नेतृत्वमा सोमबारे हाटबजारबाट अनुगमन पनि थालिसकिएको छ । स्थानीय व्यापारीहरुलाई भेला गरि म्याद गुज्रिएका सामाग्री पहिचान र त्यसले मानव स्वास्थ्यमा पार्ने प्रभावको विषयमा अभिमूखिकरण समेत गराईएको छ ।

निर्णय कार्यान्वयनमा प्रभावकारीताका लागि व्यापारीहरुकै समिति बनाईएको छ । उक्त समितिले म्याद गुज्रिएको खाद्यान्न सामाग्री बिक्रिमा स्वःस्फुर्त कडाई गर्नेछ । स्थानीय व्यापारीलाई नै अखाद्य वस्तु बिक्रिमा रोक लगाउन जिम्मेवार बनाउन खोजिएको वडाअध्यक्ष भुपाल सिं राईले बताए ।

म्याद गुज्रिएको सामान पहिचान गर्न र त्यस्ता सामानको प्रयोगले स्वास्थ्यमा पार्ने प्रभावका विषयमा विद्याय सचेतना कार्यक्रम समेत शुरु गरिएको छ । साथै, स्थानीय व्यापारी सहितको भेलाले वडा क्षेत्र भित्र सुर्तिजन्य र मादकपदार्थ उधारोमा बिक्रि नगर्ने र बालबालिकाले खरिद बिक्रि गर्न नपाईने गरि निर्णय गरेको छ । सो नियम पनि कार्यान्वयनमा आईसकेको वडा कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार