क्लबका यूवाले बनाए खोलामा पुल

  सुमेरु संबाददाता

सोलुखुम्बु, भदौ २०

बर्षापछि आएको भलबाढिले सोलुखुम्बुको घ्याङखोलामा रहेको काठे पुल बगाएपछि स्थानीय यूवाहरुले नयाँ काठको पुल बनाएका छन् । गाउँघरमा समेत सामाजिक काममा चासो घट्दै गएका बेला सोलुदुधकुण्ड नगरपालिका ८ का स्थानीय यूवाहरुले काठको पुल बनाएर उदाहरण पेश गरेका छन् ।

गएको शनिबार बर्षापछि आएको बाढीले पुरानो पुल बगाएपछि उत्पन्न आवतजावतलाई सहज बनाउन हिमालचुली यूवा क्लबका यूवाहरुले काठको पुल बनाएको क्लबका सचिब रस्विन मगरले जानकारी दिए । उनले भने, ‘हामीले क्लबको स्थापना पनि सामाजिक कामकै लागि गरेका थियौ । प्रकृतीले ल्याएको समस्या समाधानमा यूवा साथीहरुका प्रयासले आवतजावतको वातावरण सहज भएको छ ।’

काठे पुल बगाएपछि केही दिन गोराखानी, टाप्टिङ हुदै सदरमुकाम सल्लेरी आवतजावतका यात्रुलाई खोला तर्न असहज भएको थियो । पुल बनेपछि बालेस्वर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी लगायतका सर्वसाधारणलाई सहज भएको छ ।

हिमालचुली यूवा क्लब २०५२ सालमा स्थापना गरिएको हो । क्लबले स्थापनाकाल देखि आर्थिक, सामाजिक, भौतिक क्षेत्रमा योगदान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार