नयाँ तरिका – फलफूल किनेर बिक्रि केन्द्रको उद्घाटन

  सुमेरु संबाददाता

सोलुखुम्बु, भदौ ३१

बागबानी केन्द्र फाप्लुको बिक्रि केन्द्र उद्घाटनमा नयाँ तरिका अपनाईएको छ । सामान्यतया नयाँ कामको उद्घाटन रिवन काटेर गर्ने परिपाटी रहेपनि बागबानी केन्द्रले बिल काटेर बिक्रि केन्द्रको उद्घाटन गरेको छ । बागबानीको स्रोत केन्द्रको रुपमा विकसित केन्द्रमा उत्पादित तरकारी तथा फलफूल बिक्रिका लागि निर्माण गरिएको बिक्रि केन्द्रको प्रतिनिधि सभा सदस्य हेम कुमार राई ‘सुरवीर’ले फलफूल र तरकारी खरिद गरेको बिल काटेर उद्घाटन गरेका छन् ।

करिब १७ हेक्टरमा फैलिएको बागबानी केन्द्रको प्रवेशद्धारमा बिक्रि केन्द्र संगै खाजाघर पनि संचालनमा ल्याईएको छ । केन्द्र भएर ओहोरदोहोर गर्ने सर्वसाधारण तथा ताजा तरकारी सरकारी मुल्यमा खरिद गर्न चाहनेले बागबानी केन्द्र भित्र प्रवेश गर्नै नपर्ने गरि प्रवेशद्धारमा बिक्रि केन्द्र स्थापना गरिएको वरिष्ठ बागबानी विकास अधिकृत चन्द्रमान श्रेष्ठले बताए । राजस्व संकलनको लक्ष्य बृद्धिका लागि प्रतिनिधि तथा प्रदेश सांसदहरुलाई बिल कटाएर उद्घाटन गरिएको उनले बताए ।

गत आर्थिक बर्ष २०७५–७६ मा करिब ९ लाख राजस्व संकलन गरेको बागबानी केन्द्रको यो नै अहिलेसम्मकै बढि राजस्व हो । उद्घाटन कार्यक्रममा प्रदेश सांसदद्धय उत्तम कुमार बस्नेत र बुद्धिकुमार राजभण्डारी तथा जिल्ला समन्वय समिति सोलुखुम्बुका संयोजक वीर कुमार राईले स्याउ, काउली, बन्दा, काक्रा, भेण्टा, खुसार्नी, मुला, आलु सहित मोटर र मूलाको विउविजन खरिद गरेका छन् । कार्यक्रमका अन्य सहभागीले पनि ताजा तरकारी आवश्यकता अनुसार खरिद गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार