स्वास्थ्य जीवनको तीन रहस्य

हामी भन्छौं, स्वास्थ्य हुनुपर्छ । निरोगी हुनुपर्छ । यसका लागि के गर्ने ?

जीवनशैली परिवर्तन गर्नुपर्छ । खानपानमा सर्तक हुनुपर्छ । सकारात्मक सोंच राख्नुपर्छ । अब प्रश्न उठ्छ, कसरी जीवनशैली परिवर्तन गर्ने ? कसरी खानपानमा सर्तक हुने ? कसरी सकारात्मक सोंचको विकास गर्ने ?

यसका लागि अन्यत्र धाउनु पर्दैन । आफु स्वयम् अनुशासित, मर्यादित र सन्तुलिन हुन जरुरी छ । अनुशासन र मर्यादाको कुरा गर्दा अक्सर हामी अरुको लागि भन्ने सम्झन्छौं । अर्थात अरुको सामुन्ने हामी अनुशासित हुन्छौं । मर्यादित हुन्छौं । तर, आफ्नै लागि ?

हामी आफुले आफैलाई भने हेला गर्छौं । हामी आफ्नै लागि अनुशासनको पालना गर्दैर्नौं । त्यही कारण हो, हामी अनेक रोगको चपेटामा फस्दैछौं । ऐया र अत्था भन्दै दिन काट्दैछौं । पूर्ण रुपमा निरोगी, तन्दुरस्त, उर्जावान भएर बाँच्न पाएका छैनौं ।

हामीले देखावटीका लागि होइन, आफ्नै लागि अनुशासन पालना गर्नुपर्छ । र, यो अनुशासन भनेको दिनचर्याको हो, खानपानको हो, सोंच-चिन्तनको हो ।

हामी खाना खाइरहँदा अरुले के भन्छन् के सोच्छन् ? भनेर जति सर्तक हुन्छौं, त्यती सर्तकता आफ्नै स्वास्थ्य-संवेदनशिलतालाई लिएर हुँदैनौं । कुनै भोज, भत्तेर, पाहुना वा जमघटमा जब हामी खान बस्छौं, हाम्रो दिमागमा नानाथरी कुरा आउन सक्छ ।

जस्तो कि, मैले खाएको शैली मिलेको छैन कि ? धेरै छिटो पो खाइरहेको छु कि ? मेरो मुखबाट खानेकुरा चपाएको आवाज पो आइरहेको छ कि ? ओंठमा जुठो लतपतिएको पो छ कि ?

यिनै आशंकाहरुले हामीलाई सर्तक गराउँछ । हामी खाना खाइरहँदा निकै अनुशासित भएको देखाउने चेष्टा गर्छौं । सकेसम्म सभ्य भएर खाएको देखाउँछौं ।

तर, जब हामी खाना खाइरहेका हुन्छौं, तब हामी स्वास्थ्यप्रति उति सर्तक हुन्छौं ? स्वास्थ्याप्रति उति अनुशासित हुन्छौं ?

अनुशासित खानपान

के हरेक गाँस लिनुअघि यो मेरो स्वास्थ्यका लागि ठिक छ, यसले मेरो पेटमा पुगेर यस्तो काम गर्छ भनेर सोच्छौ ? हरेक गाँस चपाइरहँदा यसले पाचन यन्त्रमा यसरी काम गर्छ भनेर सोच्छौं ? कुनैपनि खानेकुरा खाइरहँदा यसले स्वास्थ्यलाई फाइदा वा हानी गर्छ भनेर सोच्छौं ?

पक्कै सोच्दैनौं । हुन त खाना खाइरहँदा हामी भोक र स्वादमा बढी केन्दि्रत हुन्छौं । भोक मेटाउने हतारो र स्वाद लिने चक्करमा खानेकुराको गुण पनि भुल्छौं । तर, खानेकुरा खाइरहँदा त्यसले स्वास्थ्यमा कस्तो प्रभाव पार्छ भनेर सोच्नुपर्छ ।

खानेकुरा थरीथरीका छन् । हेर्दा राम्रा, खाँदा मिठो खानेकुरा कति छन् कति । तर, ति सबै खानेकुरा स्वास्थ्यका लागि फाइदाजनक छ भन्ने छैन । खानेकुरा खानुको खास अर्थ पनि त्यसबाट स्वाद मात्र ग्रहण गर्नु होइन । खासमा खानेकुरामा रहेको पोषक तत्वलाई शरीरमा ग्रहण गर्नु हो । हाम्रो शरीर त्यही खानेकुराबाट नै निर्मित हुन्छ ।

त्यसैले शरीर निर्माण गर्ने, शरीरमा प्राणको रक्षा गर्ने, शरीरलाई सजिव राख्ने खानेकुराप्रति हामी किन सर्तक हुँदैनौं ?

किनभने, शरीरले थेग्नेसम्म हामी चुपचाप बस्छौं । जब कुनै रोग देखापर्न थाल्छ, तबमात्र खानेकुरा बार्न थाल्छौं । पिरो नखाने, चिप्लो नखाने, नुनिलो नखाने भन्न थाल्छौं । तर, स्वास्थ्यप्रति सचेत भएर कस्तो खानेकुरा उपयोगी हुन्छ, कुन खानेकुरा सुपाच्य हुन्छ, कसरी खाँदा स्वास्थ्यलाई राम्रो हुन्छ भनेर सोच्दैनौं । यही कारण हामी रोगको दलदलमा फस्न पुग्छौं ।

खानेकुरामा हामी अनुशासित हुनुपर्छ । यो अरुलाई देखाउनका लागि होइन, आफ्नै लागि हो । नितान्त आफ्नो शरीरका लागि ।

खाना खाने तालिका तय गर्नु, सन्तुलित खानपानको तौर-तरिका मिलाउनु, खाना खाइरहँदा सही ढंग अपनाउनु नै खानपानमा अनुशासित हुनु हो । जथाभावी खाने, जस्तोसुकै खाने, जसरीपनि खाने शैली अनुशासनहिन हो ।

अनुशासित दिनचर्या

यस्तै दिनचर्यामा पनि हामीले अनुशासन पालना गर्नुपर्छ । अरुलाई देखाउनका लागि होइन, आफ्नै लागि यस्तो तालिका तय गर्नुपर्छ जो नियमित र सन्तुलित होस् । बिहान चाडै उठ्ने, राती चाडै सुत्ने । सुत्ने र उठ्ने, खाने तालिका नियमित हुनुपर्छ । बिहान उठेपछि पानी पिउने, शौच क्रिया गर्ने, व्यायाम गर्ने, योग गर्ने, ब्रेकफास्ट लिने, दिनभर सक्रिय रहने जस्ता गतिविधि गर्नुपर्छ । यस किसिमको दिनचर्याले हामीलाई निरोगी र तन्दुरुस्त बनाउँछ ।

भावनात्मक अनुशासन

हामीभित्र अनेक सोंच आउँछ । मनभित्र जति प्रेम हुन्छ, उत्तिनै घृणा पनि । मनभित्र जति खुसी हुन्छ, उत्तिनै दुःख पनि । यी मानविय तत्व हुन् । तर, खराब तत्वलाई नियन्त्रमा राखेर राम्रो तत्वहरुलाई उजागर गर्नुपर्छ । यही हो, सकारात्मक सोंच ।

हरेक कुरालाई हेर्ने, बुझ्ने र सोच्ने शैली सकारात्मक हुनुपर्छ । सन्तुलित हुनुपर्छ । निरासा, प्रतिशोध, इष्र्या, घृणा, अपराधजन्य भावलाई निरुत्साहित गर्नुपर्छ । मनमा उमंग, खुसी, उत्साह पैदा गर्नुपर्छ । विनयी र विनम्रता हुनुपर्छ । यसले हाम्रो मन विकाररहित बनाउँछ । मन शुद्ध हुन्छ । हामी सकारात्मक हुन्छौं । जब मन सकारात्मक हुन्छ, त्यसको प्रभाव स्थुल शरीरमा पर्छ । किनभने मन र शरीर एकअर्कासँग गाँसिएको हुन्छ । दुबैमा एकअर्काको पुरक जस्तै हुन्छ । त्यसैले मनले शरीरलाई र शरीरले मनलाई कुनै न कुनै रुपमा प्रभाव पार्छ । जब हामी सकारात्मक धारणा, सोंच र चिन्तनको विकास गर्छौं, त्यसले हाम्रो शरीरमा बेग्लै आभा प्रकट गराउँछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार