चाडपर्व लक्षित सल्लेरी बजार अनुगमन

ठूलो परिमाणमा अखाद्य वस्तु बरामद

  सुमेरु संबाददाता

सोलुखुम्बु, असोज ९

सोलुखुम्बुको सल्लेरीमा चाडपर्व लक्षित बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय, सोलुदुधकुण्ड नगरपालिका र घरेलु तथा साना उद्योग कार्यालयको समन्वयमा सोलुदुधकुण्ड नगरपालिकाको वडा नं ४ फाप्लु, वडा नं ५ सल्लेरी र वडा नं ६ जेरो प्वाईन्ट क्षेत्रमा किरानापसल तथा मासुपसलमा गरिएको अनुगमनबाट ठूलो परिमाणमा अखाद्य वस्तु बरामद गरिएको हो ।

सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर कल्पना राई, जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी शाही, प्रहरी प्रशासन, उपभोक्ता हकहित संरक्षण मन्च, नेपाल पत्रकार महासंघ लगायत अन्य विषयगत कार्यालयको प्रतिनिधिको संलग्नतामा ४५ वटा किराना पसल तथा मासु पसलमा गरिएको अनुगमनबाट २१ प्रकारका म्याद गुज्रिएका खाद्य सामाग्री बरामद गरिएको हो ।

पेयपदार्थ, दालमोठ, विस्कुट, ससेज, मिट मसला, पिनट, किम्स अचार, सलाद क्रिम, चकलेट, तेल, बेडजाम, जुस, फेण्टा, अजिना, चिउरा, भुजा, थुप्पा लगायतका अखाद्य सामाग्री बरामद गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी शाहीले जानकारी दिईन् । अखाद्य वस्तु बढिजसो फाप्लु क्षेत्रका किराना पसलबाट बरामद गरिएको छ । बरामद सामाग्री प्रक्रिया पुर्याएर नष्ट गरिनेछ । अनुगमनको क्रममा मासुव्यवसायी नभेटिएकाले प्रभावकारी अनुगमन गर्न नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी शाहीको भनाई छ ।

उपभोक्ताको हितलाई ध्यानमा राख्दै चाडपर्वलक्षित अनुगमनलाई निरन्तरता दिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । स्थानीय सरकारको समन्वयमा जिल्लाका अन्य बजारमा पनि अनुगमन गर्ने बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार