निर्दयी बाबु – कहिले झुण्डाउने, कहिले गोरु बनाउने !

  सुमेरु संबाददाता

सोलुखुम्बु, असोज १४

घटना सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ६ मुक्लिको हो । बाबु तिर्थ राईले मदिरा सेवन गरि आफ्ना तिन सन्तानलाई विना गल्ति नै कठोर यातना दिने गरेको खुलासा भएको छ । मदिरा सेवन गरेर लठ्ठ बनेका बाबुले गाउँले सुतेपछि मध्ये रातिमा सुतेका आफ्ना सन्तानलाई उठाएर कठोर यातना दिदै आएको बर्षौपछि ठूलो छोरी अपनाले वडा कार्यालयको साहारा मागिन् । त्यसपछि घटना बाहिर आएको हो ।

चार सन्तानको जन्म दिएपछि कान्छो छोरो १० महिनाको हुदा नै जन्म दिने आमा अर्केसंग भागिन् । आमाले छाडेपछि पनि बाबाले दुखसुख गरेर मायाले पालनपोषण गरेको याद छ, ठूली छोरी अपनालाई । कान्छी फुपुले बाबाको दोस्रो विवाह गराईदिएपछि बाबुबाट आफ्ना सन्तानमाथी अनावश्यक कठोर भन्दा कठोर यातना शुरु भयो । छोरी अपना अहिले १५ बर्षकी भईन् । कान्छो भाई ९ बर्षको । सानिमाको कोखमा करिब एक बर्षको सानो बच्चा पनि छ ।

‘मदिराले मातेर राती घर आउने बाबाले सुतिसकेको हामीलाई उठाएर दुवैहात पछाडी बाँधेर बेस्सरी कुट्नुहुन्थ्यो, हामी रुन्थ्यौ सुनिदिने कोही थिएन् । सानिमा चुपचाप बस्न्ुहुन्थ्यो । पटक पटक कुटाई खाएकी म सहन नसकेर घर छोडेर गाउँमै रहेको फुपुफुपाजुको घरमा गएर बसे ।’ अपना थप्छिन्, ‘गाउँकै केटाहरुलाई समेत लगाएर म माथी हातपात भएको छ । बाबाले समेत यातना दिने क्रममा छातिमा धेरैपटक हात लगाउनुभएको छ । कुटाई त कति खाँए खाँए ।’

गाउँकै स्कुलमा पढ्दै गरेकी अपनासंगै परिवार काठमाण्डौ पुग्यो । काठमाण्डौमा पनि बाबा र सानिमाले खर्चमा हेरेनन् । आँशु धारा झार्दै अपना भन्छिन्, ‘अरुले दिनभरीमा बोक्न नसक्ने २५ भारी ईट्टा मैले विहानै दुई घण्टामा बोकेर १५ सय पारिश्रमिक बुझेर भाईवहिनीको चाहनामा पुरा गर्थे । उनीहरुले लाउन चाहेको र खान चाहेको कुरा किनिदिन्थे । काम गरेर पनि स्कुल पढ्थे ।’
उनीहरु गाउँ फर्केको केही महिना मात्र भयो । गाउँ फर्केपछि पनि उनी फुपुकै घरमा बस्छिन् ।

मुक्लिस्थित विरेन्द्रोदय माविमा कक्षा ७ मा पढ्ने उनी बाबाकै व्यवहारका कारण पढ्न सकेकी छैन् । ‘कक्षा कोठामा पनि बाबाकै व्यवहारलाई सम्झेर टोलाउदो रैछु । सर, म्याडमले सोध्नुहुन्छ, यत्तिकै पुतली हेरेको भनेर टार्छु तर उहाँहरुले पत्याउनुहुन्न । मन कुरा कस्लाई के था हा र ?’ अपनाले भनिन्, ‘कान्छो भाईको ढाडमा कुटेर घाउ बनाएको दृष्यले बेस्सरी दुख्यो र मलाई लाग्यो, बाँच्न पाउने अधिकारको लागि बोल्नुपर्छ । त्यसपछि प्रहरीसंग पुगे । प्रहरीले निवेदन मागेपछि विद्यालयमा गएर पेपर मागेर गाउँमै निवेदन लेख्न लगाएर निवेदन दर्ता गरे ।’

‘शुरुमा वडाअध्यक्ष फुर्तिमान तामाङले पत्याउनुभएको जस्तो लागेन । भाईलाई लिएर आउ भन्नुभयो । भाईको हालत देखेपछि बल्ल विश्वास लागेछ, उहाँलाई पनि । त्यसपछि गाउँमै छलफल भयो ।’ अपनाले भनिन्, ‘शुरु शुरुमा बाबाको ईज्जत जाला भन्ने डरले नै बोलिन् तर पछि जसरीपनि बोल्नुपर्छ लाग्यो बोले ।’ अहिले भाई संयोगको जिल्ला अस्पताल फाप्लुमा उपचार भईरहेको छ ।

बाबाको कुटाई खादा पटक पटक बेहोस् बनेका संयोग दिदीको साथमा खुसि देखिन्थे । संयोगलले भने, ‘दाईलाई र मलाई जुवामा नारेर बारीमा डल्ला फुटाउने खोपमा आफू चढेर हामीलाई लौरीले कुट्नुहुन्थ्यो, हामीले तान्न सक्थेनौ, कुटाई खान्थ्यौ, रुन्थ्यौ, बस्थ्यौ ।’ धेरैपटक उल्टो झुण्डाएर तलबाट खुर्सानीको धुँवा लगाएको दुखद भोगाई समेत संयोगले बताए । ‘फुपाजुकै घरमा खाना खादाखादै भागेका छौ । बाबाको डरले ।’ अपनाले दुखेसो गरिन् ।

ठूली छोरी अपनाको उजुरीपछि बाबालाई न्यायीक समितिमा बोलाएर छलफल गरिएको थियो । छलफलको क्रममा बाबाले गल्ती स्विकारेको वडाअध्यक्ष फुर्तिमान तामाङले जानकारी गरिदिए । छोराको उपचार खर्च व्यहोर्ने, छारीहरुको खर्च पनि व्यहोर्ने गरि सहमति गरिएको तर गल्ती दोहोरिए कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने अध्यक्ष तामाङको भनाई छ । ‘बालबच्चाको अधिकारको लागि हामी लड्छौ ।’ अध्यक्ष तामाङले भने ।

जिल्ला अस्पतालमा भाईको उपचार गराईरहेकी अपना भन्छिन्, ‘अब बाबाको घर नर्फकने, के थाहा घटना बाहिर ल्याएको झोकमा हामी सबैलाई मारेर आफू मर्न पनि त सक्छ ।’ बलिन्द्रधारा आँशु झार्दै अपना थप्छिन्, ‘बरु म पढ्न छाडेर मजबुरी गरेर भएपनि भाई बहिनीलाई पढाउछु । पछि त हेर्लान् नी !’

अहिले दिदीवहिनी फुपाजुको घरमा बस्दै आएका छन् भने एक भाई बाबा र सानिमा संगै छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार