विभेदकै कारण नेकपाबाट निर्वाचित वडासदस्य कांग्रेसमा प्रवेश

  सुमेरु संबाददाता

सोलुखुम्बु, असोज १५

सोलुखुम्बुमा नेकपाबाट निर्वाचित वडासदस्य वैशलक्ष्मी विश्वकर्मा नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन् । सोलुदुधकुण्ड नगरपालिका ७ गार्माकी दलित महिला वडासदस्य विश्वकर्मा पार्टीकै नेताहरुले विभेदको व्यवहार देखाएको र दलित समुदायको लागि कुनैपनि योजना नदिएको भन्दै गार्मामा आयोजित एक कार्यक्रममा मंगलबार कांग्रेस पार्टी प्रवेश गरेकी हुन् ।

वडासदस्य विश्वकर्मालाई नगरपालिकाकी प्रवक्ता शारदामाया तामाङले खादा र अबिर लगाएर पार्टीमा स्वागत गरेकी छिन् । नवप्रवेशी वडासदस्य विश्वकर्माले वडामा हुने कार्यक्रममा चिया विस्कुट खाँदा समेत विभेद गरेको, वडाको बजेट र योजनाबारे चासो राख्दा सूचना नदिएको, अनपढ भएको भन्दै हेप्ने गरेको र दलित समुदायको आवश्यकतालाई ध्यानमा नराखिएकोले पार्टी परिर्वतन गर्न बाध्य भएको बताईन् ।

नेपाली कांग्रेस वडा ईकाइ समितिको आयोजनामा भएको दशैँ तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा कार्यपालिका सदस्य गान्धिमाया तामाङ, कांग्रेस नेतृ टंकीमाया बस्नेत, स्थानीय समाजसेवी दोर्जी शेर्पा, नेपाल दलित संघका कोषाध्यक्ष अर्जुन नेपाली लगायतले बोल्दै नेकपा नेतृत्वको संघीय सरकारले करको भारी बोकाएको आरोप लगाए । कार्यक्रम ईकाइ सभापति भलाकाजी कार्कीको सभापतित्वमा सम्पन्न गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार