विभेद अन्त्य गर्न सहभोज

  सुमेरु संबाददाता

सोलुखुम्बु, असोज १५

सोलुदुधकुण्ड नगरपालिका ७ गार्मा स्थित नाजिङमा नगर कार्यपालिका सदस्यले सहभोजको आयोजना गरेका छन् । मंगलबार कार्यपालिका सदस्य सोनाम ग्याल्जेन शेर्पाले जातीय समानताको सन्देश प्रवाहका लागि सहभोजको आयोजना गरेका हुन् ।

ट्रेकिङ एसोसियसन अफ नेपाल (टान)का निर्वाचित सदस्य समेत रहेका शेर्पाले दलित र गैरदलित समुदायका बीचमा कुनैपनि किसिमको भेदभाव नहोस् भन्नका लागि सहभोजको आयोजना गरेको बताए । पर्यटन व्यवसायी समेत रहेका शेर्पाले दशै तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदानको अबसरमा सहभोजको आयोजना गरेका हुन् ।

‘संविधानले नेपालमा छुवाछुत तथा भेदभाव नरहेको बताएपनि समाजमा अझैपनि विभेद बाँकी रहेकाले न्यूनिकरणका लागि सामाजिक सन्देश प्रवाहका लागि सहभोजको आयोजना गरेको हूँ ।’ उनले भने, ‘सहभोजले दलित र गैरदलित समुदायका मानिस बीचमा सामिप्यता तथा सामाजिक सद्भाव बढाएको छ ।’

सहभोजमा दलित समुदायका व्यक्तिले पकाएको मासु, चिउरा, अचार, चिया लगायतका खानेकुरा सामूहिक रुपमा खाईएको थियो । भोजमा दलित समुदायका कामी, दमाई तथा गैरसमुदायका नेवार, शेर्पा, मगर, तामाङ लगायतका जातजातीको सहभागीता थियो ।
स्थानीय मंगल बहादुर घिमिरेले सहभोजले समानताको सन्देश दिएको बताए । उनले भने, ‘हामीले पकायौँ, गैरदलित समुदायसंग बसेर खाईपिई ग¥यौ । समान व्यवहार पाउदा को खुसी हुदैन् होला र ?’

सहभोजपछि दलित र गैरदलित समुदायका मानिसहरुले सामूहिक रुपमा नाचेर खुसी साटासाट समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार