बाबुबाट कठोर यातना पाएका बालबालिकाको अभिभावकत्व स्थानीय सरकारले लिने

  सुमेरु संबाददाता

सोलुखुम्बु, असोज १५

बाबुबाट पटक पटक कठोर यातना भोगेका थुलुङ दुधकोशी गाउँपालिका ६ मुक्लिका बालबालिकालाई स्थानीय सरकारले अभिभावकत्व दिने भएको छ । बाबु तिर्थ राईले दुई छोरी र एक छोरालाई मदिराले लठ्ठ भएपछि मध्यरातीमा कठोर यातना दिने गरेको जेठी छोरी अपना राईको उजुरीपछि घटना बाहिर आएपछि गाउँपालिकाले पिडित बालबालिकाको शिक्षा र पालनपोषण खर्च व्यहोर्ने गरि अभिभावकत्व ग्रहण गर्ने जनाएको छ ।

बुधबार प्रमुख प्रशासकीय अधिकृत अविलाल राईद्धारा जारी विज्ञप्तीमा बाबुबाट मानवीय यातना र कुटुपिट पछि घाईते ९ बर्षिय संयोग राईको उपचारमा सहयोग गर्ने र अभिभावकत्व प्रदान गर्ने उल्लेख गरिएको छ । गाउँपालिका अध्यक्ष असिम राईले अमानवीय क्रियाकलापमा संलग्न बाबुलाई न्यायीक समितिमा छलफल गराई तत्कालको लागि छोडिएको भएपनि व्यवहार नसुधारे कानुनी प्रक्रियामा अघि बढाईने बताए । घटनाबारे जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएको र पिडित बालबालिकालाई गाउँपालिकाले अभिभावकत्व प्रदान गर्ने अध्यक्ष राईको भनाई छ ।

छोरी अपनाले वडा नं ६ कार्यालयमा उजुरी दिएपछि न्यायीक समितिमा छलफल गराईएको थियो । सो छलफलमा बाबुले यातना दिएको सहजै स्विकार गरेका थिए । बाबुको यातनाबाट ढाडमा चोट पुगेका कान्छो छोरो संयोगको जिल्ला अस्पताल फाप्लुमा उपचार भईरहेको छ । मदिराले मातेर सुतिसकेका आफ्ना सन्तानलाई मध्यराती जुवामा नारेर तान्न लगाउने र कुट्ने तथा उल्टो झुण्डाएर खुर्सानीको धुनी बाल्ने, जाँतो बोकेर सयौँ पटक उठबस गर्न लगाउने, भाडा माझ्ने जालीले रडटेर छाला फाल्ने र नुन खुर्सानी दलिदिने, दुवै हात पछाडी बाँधेर कुट्ने जस्ता कठोर यातना दिदै आएको पिडित बालबालिकाले बताएका छन् ।

निरन्तरको पिडा खप्न नसकेर अपना दिदीवहिनी फुपाजुको घरमा बस्दै आएका थिए भने कान्छो भाई बाबु र सानिमा संगै बस्दै आएका थिए । जन्मदिने आमा अर्कैसंग भागेपछि बाबुले दोस्रो विशे गरेका थिए । सानिमा ल्याएपछि कठोर यातना शुरु भएको पिडित बालबालिकाको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार