‘सोलुखुम्बु ट्रेल रेस’ हुने

  सुमेरु संबाददाता

सोलुखुम्बु, कार्तिक १०

संसारकै लामो ट्रेल रेस दाबी गरिएको सोलुखुम्बु ट्रेल रेस मंगलबार ओखलढुंगा र सोलुखुम्बुको सिमाना धापबाट सुरु हुने भएको छ । ३ सय १० किलोमिटर दूरी पार गर्ने उक्त ट्रेल रेस ३ हजार मिटरको उचाइबाट सुरु भएर सगरमाथा आधार शिविर हुँदै फाप्लुमा आएर टुंगिने आयोजक संस्था द स्मल वल्ड ९टिएसडब्लु०का अध्यक्ष कर्मा शेर्पाले बताए ।

सोलुखुम्बुको तल्लो भेग हुँदै सगरमाथा क्षेत्रका विभिन्न गन्तव्य हुँदै सदरमुकाम आएर उक्त रेस समापन हुनेछ । मंगलबार बिहान ७ बजे धापबाट सुरु भएर उक्त सोलुखुम्बु ट्रेल रेस, ४ हजार ६ सय अग्लो पिकेडाँडा, ३ हजार ५ सय मिटर उचाईकोे लामाजुरा पास, पर्यटकीय गाउँ जुनबेंशी, टाक्सिन्दु गुम्बा, नुम्बुर र दूधकुण्ड पोखरी हुँदै रेस अघि बढ्नेछ ।

प्रथम सगरमाथा आरोहीहरू तेन्जिङ नोर्गे र सर एडमन्ड हिलारी हिँडेको जंगलको बाटोलाई ट्रेल रेसको बाटो बनाईनेछ । उक्त ऐतिहासिक पदमार्गलाई पछ्याउँदै हिमाली दृष्य अवलोकनका साथ दौड्न पाउँदा धावकहरु खुशी हुने अध्यक्ष शेर्पाको भनाई छ । यस रेसमा अधिकांश धावकहरु फ्रान्सबाट आएका छन् भने नेपाली धावकसंगै बेल्जियम, स्वीस लयागतका यूरोपेली देशका धावकले पनि सहभागिता जनाउने छन् ।

यूरोपबाट ६० जनाले र नेपालबाट १५ जना स्थानीय शेर्पाहरुले सहभागिता जनाउँदै छन् । ४० जना विदेशी पुरुष र २० जना विदेशी महिला तथा १५ जना स्वदेशी पुरुषहरुले सोलुखुम्बु ट्रेल रेसमा सहभागिता जनाएका भएका छन् । रेसमा चर्चित विन्टर एथलेक्टिस दावा दाछिरी शेर्पाले पनि सहभागिता जनाएका छन् । शेर्पाले विन्टर ओलम्पिकमा नेपालको नेतृत्व गरिसकेका छन् । ५ पटकसम्म अन्तराष्ट्रिय दौंडमा बिजेता बनेका दाछिरी सोलुखुम्बुमै जन्मिएका हुन् ।

१५ दिनसम्म हुने उक्त रेस ५ हजार ४ सय मिटर अग्लो सगरमाथा क्षेत्रको रेन्जो पास, गोक्यो भ्याली, ५ हजार ३ सय ६४ मिटर उचाईमा रहको सगरमाथा आधार शिविरमा पुगेर, गोरक्सेप, लोबुचे, फेरीचे, तेङबोचे, नाम्चेबजार, लुक्ला, खरीखोला, नुनथला, टाक्सिन्दु हुँदै फाप्लुमा टुंगिने आयोजक संस्था द स्मल वल्डका अध्यक्ष कर्मा शेर्पाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार