थुलुङ दुधकोशीमा ‘गाउँ प्रहरी’

  सुमेरु संबाददाता

सोलुखुम्बु, कात्तिक १८

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले ५ जना गाउँ प्रहरी छनौट गरेको छ । एक वरिष्ठ गाउँ प्रहरी र ४ जना गाउँ प्रहरी जवानका लागि माग गरिएको आवेदनका आधारमा लिखित, मौखिक र शारिरीक तन्दुरुस्ती परिक्षणको आधारमा गाउँ प्रहरीको छनौट गरिएको हो ।

वरिष्ठ गाउँ प्रहरीका लागि दुई जनाको आवेदन परेको थियो भने गाउँ प्रहरी जवानका लागि १७ जनाको आवेदन परेको थियो । तीमध्येबाट नेलेका निर कुमार कार्की वरिष्ठ गाउँ प्रहरीमा छनौट भएका छन् भने नेलेकै रविन खड्काको नाम वैकल्पिकको सूचीमा प्रकाशन गरिएको छ । गाउँपालिकाले सोमबार प्रकाशन गरेको नतिजामा काँगेलका असिम बस्नेत, पन्चनका नईन्द्र राई, नेलेका रिना विश्वकर्मा र तिङलाकी अम्रिता राई गाउँ प्रहरी जवानमा छनौट भएका छन् । वैकल्पिकको सूचीमा मुक्लिका सागर राई र दिपक श्रेष्ठको नाम प्रकाशन गरिएको छ ।

छनौट भएका गाउँ प्रहरीलाई ३ दिन भित्र करार सम्झौताका लागि गाउँपालिकामा डाकिएको छ । गाउँपालिकाको विकासमा सहजीकरणका लागि गाउँ प्रहरीको अवधारणा अघि बढाएको गाउँपालिकाले सामाजिक चेतनाप्रवाह र स्थानीय सरकारले निर्माण गरेको कानुन कार्यान्वयनका लागि परिचालन गर्ने छ ।

यसअघि सोलुदुधकुण्ड नगरपालिकाले ११ जना नगरप्रहरी छनौट गरि परिचालन गरिसकेको छ । गाउँ प्रहरी भर्ना गर्ने जिल्लाका अन्य गाउँपालिकाको हकमा थुलुङ दुधकोशी पहिलो बनेको छ भने जिल्लाका ८ स्थानीय तहमा दोस्रो बनेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार