साक्षर जिल्ला घोषणा गर्न सामूहिक प्रतिबद्धता

  सुमेरु संबाददाता

सोलुखुम्बु, कात्तिक २०

सोलुखुम्बुका ८ वटै स्थानीय तहले आगामी जेठ १५ सम्म साक्षर जिल्ला घोषणा गर्न प्रतिबद्धता जनाएका छन् । नेपाल सरकारले २०७६ साल भित्र मूलुकलाई नै साक्षरता घोषणा गर्न लिएको लक्ष्य अनुसार सोलुखुम्बुलाई पनि आगामी जेठसम्म घोषणा गरिसक्ने गरि तयारीका काम गर्न जनप्रतिनिधि र कर्मचारी सहमत देखिएका छन् ।

शिक्षा तथा मानव विकास स्रोत केन्द्र भक्तपुर र शिक्षा विकास तथा समन्वय ईकाई सोलुुखुम्बुको आयोजना तथा जिल्ला समन्वय समितिको आयोजनामा सल्लेरीमा आयोजित अन्तरक्रिया तथा ३ दिने अभिमूखिकरणमा उनीहरु मंसिर महिनाभित्र साक्षरताको तथ्यांक संकलन गर्ने, पुस महिना देखि चैत्रसम्म पौढ तथा असाक्षर समूहलाई साक्षरता कक्षा संचालन गर्ने र आगामी बैशाख १५ सम्म हरेक स्थानीय तह साक्षर घोषणा गरिसक्न सहमत भएको शिक्षा विकास तथा समन्वय ईकाई सोलुखुम्बुका प्रमुख खगेन्द्र श्रेष्ठले बताए ।

स्थानीय तह साक्षरता घोषणापछि जेठ १५ सम्म सोलुखुम्बुलाई साक्षर जिल्ला घोषणा गर्ने तालिका निर्माण गरिएको छ । साक्षरता कक्षा संचालन र अन्य गतिविधिका लागि हरेक स्थानीय तहलाई संघीय सरकारले ५ लाखको दरले बजेट समेत पठाईसकेको छ । प्रदेश नं १ मा सोलुखुम्बु सहित ताप्लेजुङ र संखुवासभा साक्षर जिल्ला घोषणा गर्न बाँकी रहेको छ भने नेपालभर २६ जिल्ला साक्षर घोषणा गर्न सकिएको छैन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार