सडक मर्मतमा ढिला हुदा दिक्तेल–पञ्चमी बस चल्न सकेन

  सुमेरु संबाददाता

खोटाङ, कात्तिक २१

साकेला गाउँपालिका–५ मात्तिमको तावाखोला पश्चिमतर्फ भलबाढीले भत्काएको सडक मर्मत गर्ने जिम्मा लिएको निर्माण उपभोक्ता समितिले काममा ढिलाई गरेपछि बस चल्न सकेको छैन ।

ग्याभिङ हालिएको करिब ४५ मिटर सडक भलबाढीले भत्काएपछि भौतिक पुर्वाधार विकास मन्त्रालय उदयपुरसँग सम्झौता र गाउँपालिकाको साझेदारीमा करीव २२ लाखमा भत्किएको सडक सहित बाँझेच्यानडाँडा र रतन्छाको ठाउँठाउँमा भत्किएको सडक बनाउन गठन गरिएको संयुक्त सडक निर्माण समितिले दशैपछिबाट काम थाले पनि पुर्णता नपाउदा सवारी संचालनमा आउन सकेको छैन् ।

बर्खामा अबरुद्ध सडक मर्मत नहुदा हिउँदमा पनि सर्वसाधारणले सडकको उपयोग पाएका छैनन् । पेश्की रकम नदिएको र वर्षातका कारण काममा ढिला भएको निर्माण समितिका सदस्य निर चाम्लिङले स्वीकार गरे । काममा ढिला भएकै हो । उनले भने, अहिले भने धमाधम काम भइरहेको छ ।

‘उक्त रुटमा हामी बस चलाउन तयार छौ । तर, सडक बनेको छैन, स्थानीय सरकारले पनि ताकेता गरेको देखिन्दैन’ यातायात व्यवसायी भन्छन् । यता गाउँपालिका अध्यक्ष अर्जुन खड्काले भने काममा ढिलाई भएकाले भौतिक पुर्वाधार विकासको कार्यालयलाई काम छिटो सकाउन अनुरोध गरिएको र निर्माण उपभोक्ता समितिलाई ताकेता गरिरहेको बताए ।

बेलैमा सडक तयार नहुंदा दिक्तेलबाट दिप्रुङ चुईचुम्मा गाउँपालिकाको सप्तेश्वर छितापोखरीको पञ्चमीबजार हुंदै जिल्लाको दक्षिणी क्षेत्रका सर्वसाधरण एकदिन पैदल हिड्न बाध्य छन् । यातायात नचल्दा बालबालिका, बृद्धबृद्धा, अशक्तहरुलाई यात्रा गर्न समस्या भईरहेको छ ।

तावाखोलामा बन्दैछ पुल

तावाखोलामा बर्खाको समयमा डाईभर्सन बनाएर सवारी तार्ने झन्जट हट्ने भएको छ । ४० मिटर लम्बाईको स्टिल प्लेट गे्रर्डर पुल बनाउने गरि प्रदेश सरकार भौतिक पुर्वाधार विकास मन्त्रालय उदयपुर र नेशनल महाविर र सिद्धिसाई जेभिविच २०७५ बैशाख २१ गते सम्झौता भएपछि बर्षेनी डाईभर्सन बनाईराख्नुपर्ने झन्जट हट्ने भएको हो ।

हाल कछुवा गतीमा पुलको काम भईरहेको छ । स्थानीय सडक पुल सहयोग इकाईको प्राविधिक सहयोग र प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयको ४ करोड ५१ लाख ३५ हजार १९५ रुपैयाँ लागतमा बन्ने पुल २०७७ बैशाख २१ गते सम्पन्न गर्नुपर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार