१५३ कुकुरको बन्ध्याकरण

  सुमेरु संबाददाता

सोलुखुम्बु, कात्तिक २३

सोलुदुधकुण्ड नगरपालिकाको पशु शाखाले आयोजना गरेको सामुदायीक तथा घरपालुवा कुकुरको बन्ध्याकरण तथा रेविज विरुद्धको खोप शिविरमा १५३ वटा भाले–पोथी कुकुरको बन्ध्याकरण गरिएको छ ।

कात्तिक १९ देखि २२ सम्म संचालन गरिएको शिविरमा सल्लेरी, फाप्लु, दोर्पु लगायतका क्षेत्रमा पालिएका तथा सडकका कुकरलाई बन्ध्याकरण गरिएको हो । पहिलो दिन ३९ वटा कुकुरको बन्ध्याकरण गरिएको शिविरमा दोस्रो दिन ३८ वटा, तेस्रो दिन ४६ वटा र चौथो तथा अन्तिम दिन ३० वटा कुकुरको बन्ध्याकरण र रेविज विरुद्धको खोप दिईएको पशु शाखा प्रमुख लेखनाथ बास्तोलाले जानकारी दिए ।

हिमालयन एनिमल रेस्क्यू ट्रष्ट पोखराको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा ९१ वटा भोले र ६२ वटा पोथी कुकरको बन्ध्याकरण गरिएको छ । शिविरको समापनमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईले कुकुरको बन्ध्याकरण र रेविज विरुद्धको खोप दिएर पुर्वसावधानीको काम गरेको बताए । उनले भने, ‘आगामी बर्षमा पनि बन्ध्याकरण र खोपको शिविरलाई निरन्तरता दिदै लैजानेछौ’ ।

हिमालयन एनिमल रेस्क्यू ट्रष्ट पोखराका संचालक निर्देशक खगेश्वर भट्टराईले कम्तीमा पनि ४ बर्ष निरन्तर बन्ध्याकरण र खोप दिनसके रेविज उन्मुलन र कुकुरको जनसंख्या नियन्त्रण गर्न सकिने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार