सकियो १५ दिने ‘सोलुखुम्बु ट्रेल रेस’

उपाधी दावा र ल्हमूलाई

  सुमेरु संबाददाता

सोलुखुम्बु, कात्तिक २८

तल्लो क्षेत्रको पर्यटन प्रबद्र्धन तथा पर्यटन बर्ष सन् २०२० लाई समेत लक्षित आयोजना गरिएको ‘सोलुखुम्बुु ट्रेल रेस’ को पुरुषतर्फको उपाधी नेपाली धावक दावा शेर्पाले जितेका छन् । उनी निर्धारित ३१० मिलोमिटरको दूरी २९ घण्टा ३३ मिनेटमा पार गर्दै प्रथम भएका हुन् । सोलुदुधकुण्ड नगरपालिका ८ धापबाट सुरु भएको रेस आधार शिविर पुगेर पुनःतल्लो क्षेत्रको फाप्लुमा बिहीबार समापन गरिएको हो ।

रेसमा निर्धारित दुरी ३४ घण्टा ४५ मिनेटमा पार गर्दै फ्रेन्च नागरिक मार्क द्धितीय र ३६ घण्टा ३२ मिनेटमा दुरी पार गर्दै पेम्बा शेर्पा तृतीय भएका छन् । त्यस्तै, महिलातर्फ ४३ घण्टा ३० मिनेटमा दुरी पार गर्दै ल्हमू शेर्पा प्रथम भएकी छिन् भने ४९ घण्टा ४५ मा दुरी पार गर्दै मिङमारल्हेमी शेर्पा द्धितीय र ५१ घण्टा ५६ मिनेटमा निर्धारित दुरी पार गर्दै पासाङल्हमू शेर्पा तृतीय भएकी छिन् ।

फाप्लुमा आयोजित समापन कार्यक्रममा सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङबु शेर्पाले सोलुखुम्बुको पर्यटन प्रबद्र्धनमा ट्रेल रेसले महत्वपूर्ण भूमिका खेल्ने र भ्रमण वर्ष २०२० लाई सफल बनाउन प्रचार प्रसारमा अझै जोड दिनुपर्ने बताए । उनले भने, ‘अघिल्ला बर्षमा भन्दा पछिल्ला केही बर्षमा तल्लो क्षेत्रमा पनि पर्यटकको संख्या दुईगुणाले बढेको प्रारम्भिक सर्वेले देखाएको छ । पर्यटकलाई आकर्षण गर्नका लागि प्रचारप्रसारसंगै भौतिक पुर्वाधार र सुविधामा बृद्धि गर्न आवश्यक छ ।’

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक नारायण प्रसाद चिमोरियाले पर्यटक भित्राउन सुरक्षा महत्वपुर्ण रहेकाले जिल्ला भित्र असुरक्षित रहनुपर्ने कुनैपनि वातावरण नभएको बताए । उनले भने, ‘एउटा नेपालीबाटै हुने असुरक्षित वातावरण र अर्को पर्यटकबाटै हुने असुरक्षित वातावरणलाई मध्यनजर गर्दै सुरक्षा प्रणाली अपनाईएकाले ढुक्क वातावरणमा जिल्ला भ्रमण गर्न सकिनेछ ।’

रेसको नेतृत्व गरेका ओलम्पिक धावक दाछिरी शेर्पाले नेपालका लागि दौडिएको यो रेसले सन् २०२० नेपाल भ्रमण बर्षका लागि सहयोग पुग्ने बताए । उनले भने, ‘माउथ टु माउथ प्रचारले पनि सयौँ पर्यटक नेपाल भित्राउन सकिनेछ ।’ हिमाल एफ एमका प्रबन्ध निर्देशक भानुभक्त निरौलाले यो रेसले विश्वसामु सकारात्मक सन्देश फैलाएकाले नेपाल भ्रमण बर्ष सफल पार्नका लागि योगदान गरेको बताए । ‘द स्मल वल्र्ड’ का अध्यक्ष कर्मा शेर्पाले रेसमा सहभागी विदेशी धावकलाई आफ्नो देशमा फर्केर नेपालको सुन्दरताको बारेमा बताएर नेपाल आउने बातावरण बनाइदिन आग्रह गरे ।

३१० किलोमिटर दूरीको दौड पुरा गर्न धावकहरु चार हजार छ सय अग्लो पिके पिक, तीन हजार पाँच सय मिटर अग्लो लामाजुरा पास, जुनबेसी, टाक्सिन्दु गुम्बा, नुम्बुर र करेलुङको फेदमा रहेको पबित्र ताल दूधकुण्ड पोखरी हुँदैै पाँच हजार चार सय मिटर अग्लो सगरमाथा क्षेत्रको रेन्जोला पास, गोक्यो भ्याली, पाँच हजार ३६४ मिटर उचाइमा रहेको सगरमाथा आधारशिविर पुगेर गोरक्सेप, लोबुचे, फेरीचे, तेङबोचे, नाम्चेबजार, लुक्ला, खरीखोला, नुनथला, टाक्सिन्दु हुँदै फाप्लु आइपुगेका हुन् ।

६२ जना विदेसी र पाँच जना नेपाली सहित रेसमा ७७ वर्षका फ्रेन्च नागरिक ज्याक समेत सहभागी थिए । रेसमा फ्रान्स, बेल्जियम, स्वीटजरल्यान्ड लगायतका यूरोपेली देशका धावकहरु सहभागी थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार