सोलुखुम्बु, कात्तिक ३०
आर्थिक बर्ष २०७५–७६ देखि सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत ‘अकबरे खुर्सानी’ ब्लक कार्यक्रम संचालनमा आएपछि कृषकले खुर्सानी उत्पादन शुरु गरेका छन् । आर्थिक बर्षको अन्तिम एक महिनामा कार्यान्वयन गरिएको श्रमदान सहित ३१ लाख ५८ हजारको कार्यक्रमबाट खुर्सानी लगाएका कृषकले छोटो समयमै आम्दानी लिन थालेका हुन् ।
गाउँपालिकाका वडा १ सल्यान, ३, ४ र ५ नेचाका ११० कृषकहरुले २२० रोपनी क्षेत्रफलमा लगाएका खुर्सानीले उत्पादन दिन थालेपछि स्थानीय बजारमा बिक्रि गरि आम्दानी लिन शुरु गरिसकेको अकबरे खुर्सानी उत्पादक ब्लक संचालक समितिका अध्यक्ष तिलक राईले बताए । उनले भने, ‘एक महिनाको छोटो अवधिमा ईच्छुक कृषकलाई आधारभूत तालिम दिएर करिब २ लाख ४३ हजार बोट अकबरे खुर्सानी रोपेका हौ । नगदे बाली भएकाले पनि छोटो समयमै कृषकले आम्दानी लिन थालेका छन् ।’
दुई हजार रोपनीमा अकबरे खुर्सानी लगाउने द्येयले काम गरिरहेको समितिले अर्को बर्ष सम्ममा गाउँपालिकाका सम्पुर्ण क्षेत्रका कृषकलाई समेट्ने लक्ष्य राखेको छ । बर्षेनी ५० हजार केजी खुर्सानी उत्पादन गर्ने लक्ष्य समितिले लिएको छ । अहिले ७५ प्रतिशत खुर्सानी वडा नं ५ क्षेत्रमा उत्पादन हुदै आएको छ । त्यसभेगका कृषक खुर्सानी उत्पादनमा सक्रिय देखिएकाले उत्पादन अनुसारको आम्दानी पनि लिईरहेको समितिका अध्यक्ष राईले बताए ।

कार्यक्रम शुरु भएको दोस्रो बर्षमै हरेक हप्ता ६ सय देखि ७ सय केजीसम्म खुर्सानी स्थानीय बजारमा पठाईने गरेको समितिले बताएको छ । स्थानीय बजारमै अकबरे खुर्सानीको माग राम्रो भएकाले मौसममा प्रतिकेजी दुई सय देखि बेमौसममा १५ सय रुपैया सम्म बिक्रि हुने गरेको छ ।
ब्लक कार्यक्रमको आधिकारिक बिक्रेता मार्फत स्थानीय बिहिवारे बजार, सदरमुकामको सल्लेरी बजार लगायतका ठाउँहरुमा खुर्सानीको बिक्रि गरिरहेको छ । ब्लकले हाल आफ्नै लोगो र नाम सहितको झोला, बोरा समेत प्रयोगमा ल्याएको छ । खरिदकर्तालाई लोगो अंकित झोलामा खुर्सानी दिएर पठाउदा उपभोक्तालाई सजिलो हुने र प्रचारमा समेत सहयोग पुग्ने समितिले जनाएको छ ।
स्थानीय बिहिवारे बजार, सल्लेरी, काठमाडौं लगायतका स्थानहरुमा स्टोर तथा आधिकारिक बिक्री केन्द्र स्थापना गरि सोही मार्फत विक्री गर्ने र उत्पादन हुने सिजन ७ महिना मात्र भएकोले पुस देखि बैशाख महिनासम्मको लागि सुकाउने विधि प्रयोग गरि १२ महिना अकबरे खुर्सानी उपलब्ध गराउने तयारी गरिरहेको ब्लक संचालक समितिले जनाएको छ ।
कृषकहरुले लगाएको खुर्सानीमा रोगको समस्या देखिएकाले प्राविधिक परामर्श र औषधिउपचारका लागि कृषि प्राविधिको आवश्यकता परेको कृषकहरुले बताएका छन् । ‘गाउँमै बसेर खुर्सानी खेतिमा सहयोग गर्ने प्राविधिकको खाँचो महसुस गरेका छौ । ब्लक कार्यक्रम अन्तरगत राख्न मिल्ने गरि माग पनि गरेका छौ ।’ संचालक समितिका अध्यक्ष राईले भने ।