सोलुदुधकुण्ड नगरपालिकाले राख्यो जिल्ला अस्पताल फाप्लुमा चिकित्सक

  सुमेरु संबाददाता

सोलुखुम्बु, मंसिर ३

तिन हप्तादेखि चिकित्सकविहिन बनेको जिल्ला अस्पताल फाप्लुमा सोलुदुधकुण्ड नगरपालिकाले चिकित्सकको व्यवस्था मिलाएको छ । ग्रामिण भेगका नागरिक उपचारबाट बन्चित हुनुपरेको अवस्थामा मंसिर १ गते देखि नगरपालिकाले करारमा चिकित्सकको व्यवस्था गरेको हो । डा. स्मृती गौतमलाई करारमा नियुक्त गरेपछि अस्पतालको वातावरण सामान्य बन्दै गएको छ ।

प्रदेश सरकार मातहतमा रहेको अस्पतालमा नागरिकको स्वास्थ्य उपचार पाउने अधिकार सुनिश्चित गर्नका लागि प्रदेश सरकारले चिकित्सक नखटाएसम्मका लागि करारमा व्यवस्था मिलाएको सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले बताए । उनले भने, ‘प्रदेश सरकारको बाटो हेर्दा फाप्लु अस्पताल महिनौ चिकित्सकविहिन हुने अवस्था देखेपछि नगर क्षेत्रमा अवस्थित अस्पतालमा नगरपालिकाले खर्च व्यहोर्ने गरि करारमा चिकित्सक राखेका हौ ।’ डा. गौतमले काम गर्न थालिसकेकाले स्वास्थ्य सेवा प्रवाहको जटिल अवस्था सामान्य बन्दै गएको मेयर शेर्पाले बताए ।

करारमा चिकित्सक राख्ने सम्बन्धमा छलफल गर्न मंसिर १ गते अस्पताल विकास समितिको वैठक समेत बसेको थियो । चिकित्सक नहुदा दैनिक ८० जनाको हाराहारीमा आउने बिरामीको संख्या झण्डै ५० प्रतिशतले घटेको थियो भने उपचारका लागि आएका बिरामीलाई पनि ओखलढुंगा र काठमाण्डौका विभिन्न अस्पतालमा रेफर गर्नुपर्ने अवस्था रहेको थियो ।

अस्पतालका हेल्थअसिष्टेन्ट विरेन्द्र शाहले करारमा भएपनि चिकित्सकको व्यवस्था भएपछि निकै राहत मिलेको बताए । उनले भने, ‘ओपिडि देखि सम्पुर्ण काम आँफै गर्नुपथ्र्यो, अब भने सहज भएको छ ।’ पोष्टमार्टमबाहेक बिरामीको उपचार, प्रसुती सेवा लगायतका स्वास्थ्य सेवा प्रदान गर्न सकिने शाहको भनाई छ ।

‘चिकित्सक नहुदा निरोगीताको प्रमाणपत्र लिन समेत समस्या भएको थियो, उपचारको कुरै छोडौ ।’ एक सर्वसाधारणले भने घरअगाडी अस्पताल भएपनि चिकित्सक नहुदा केही भईहाले कहाँ जाने भन्ने चिन्ताले सताउथ्यो, अब ढुक्क भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार