सोलुखुम्बुमा लाखौं रोपनी सरकारी जग्गा निजिकरणको धन्दा बाहिरियो, अब के होला ?

  सुमेरु सम्बाददाता

सोलुखुम्बु, मङ्सिर ४

सोलुखुम्बुको विभिन्न महत्वपुर्ण क्षेत्रमा रहेको लाखौं रोपनी सरकारी जग्गा निजिकरण गरिएको पाइएको छ । करौडौ मुल्य पर्ने सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्न समाजामा प्रतिष्ठित भनिएका व्यक्ति नै लागि परेको तथ्य बाहिरएको छ ।

विभिन्न क्षेत्रका सरकारी जग्गा निजीकरण गर्नेका बिरुद्ध बुधबार उजुरीसमेत दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले अधिकार प्रत्यायोजन गरेको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा सरकारी कर्मचारीलाई समेत प्रलोभनमा पारी सार्वजानिक जग्गा निजिकरण गरेको प्रमाण सहित उजुरी दर्ता गरिएको हो ।

साविक जुभिङ गाविस वडा ५ को पर्यटकिय रुटमा पर्ने नेपाल सरकारको नाममा रहेको कित्ता नम्बर ५७९, को २ लाख ९८ हजार २ सय ३० बर्गमिटर, कित्ता नम्बर ५८१ को ३ लाख ९८ हजार ५ सय ६० बर्गमिटर जंगललाई स्थानीय बुधमाया थापामगरको नाममा कित्ताकाट गरि दर्ता गरिएको संलग्न प्रमाणमा उल्लेख गरिएको छ । २०५८ साल श्रावण ३१ गते कित्ता नम्बर ५ सय ७९ कित्ताकाट हुँदा ६ सय २० नयाँ कित्ता कायम भई ३१ सय बर्गमिटर सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको जिल्ला नापी कार्यालयको फिल्ड बुकमा उल्लेख गरिएको छ ।

यस्तै सोही मितिमा कित्ता नम्बर ५८१ बाट कित्ताकाट भई २५ सय बर्गमिटर जग्गा बुधमाया थापामगरको नाममा दर्ता गरिएको छ । २०७१ साल कात्तिक ७ गतेका दिन उक्त जग्गा कित्ताकाट गरि विभिन्न व्यक्तिलाई बिक्रि समेत गरिएको छ । करिब २ करोड मुल्यको उक्त जग्गा प्रकरणमा बुधमाया थापामगर, प्रेमबहादुर थापामागर र रामकृष्ण थापामगर समेतको नाम जोडिएको छ । प्रेमबहादुर थापामगर नेपाली काग्रेसका जिल्ला नेता समेत हुन् ।

यस्तै साविक चौरीखर्क गाविस वडा नम्बर ८ स्थित तेञ्जिङ हिलारी बिमानस्थल नजिकैको ४१९ कित्ता नम्बरको जग्गा समेत निजिकरण गरिएको छ । निवेदनमा उल्लेख भएअनुसार ७ हजार ६ सय ५७. ५ बर्गमिटरको बिरह ढडेन साबिक सोताङ ३ घर भई हाल चौरीखर्क ८ बस्ने सुबोध नेपाली र मनमाया नेपालीको नाममा दर्ता गरिएको छ ।

नापी कार्यालयको तथ्याङ्क अनुसार २०६९ साल मंसिर १८ गते कित्ताकाट गरि सुबोध नेपालीको नाममा कित्ता नम्बर ८३३ कायम गरी १ हजार ४७.४८ बर्गमिटर जग्गा दर्ता गरिएको छ भने ८३४ कित्ता नम्बर कायम गरी ६ हजार ६२० बर्गमिटरको जग्गा कृष्णबहादुर नेपालीको श्रीमति मनमाया नेपालीको नाममा दर्ता गरिएको छ । सुचना कर्ता बीरउदास श्रेष्ठले निवेदनमा उल्लेख गरेअनुसार उक्त जग्गाको मुल्य करिब ३ करोड रहेको छ ।

यस्तै साविक चौरिखर्क १ स्थीत नेपाल सरकारको नाममा रहेको कित्तानम्बर ११६ को ८ लाख ३० हजार ८ सय ५० बर्गमिटरको जंगल समेत निजिकरण गरेको पाईएको छ । साविक चौरीखर्क २ बस्ने दावा नुर्वु शेर्पाले २०७० साल साउन १८ गते तीनवटा कित्ता ४५९, ४६०, र ४६१ मा क्षेत्रफल क्रमश ४ हजार १५०, १४ हजार १ सय र १५ हजार ५ सय ३० वर्गमिटरको जग्गा दर्ता गरेको जिल्ला नापी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । अन्दाजी ४ करोड पर्ने उक्त जग्गा सरकारीकर्मचारीले समेत पदको दुरुपयोग गरी निजिकरण गरेको भन्दै छानबिन गरी कानुन अनुसार कार्वाही गर्न सुचनाकर्ता बीरउदास श्रेष्ठले माग गरेकाछन् ।

उक्त निवेदन आजै जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले जानकारी दिए । उनले छानबीन गरि कार्वाही प्रक्रिया अगाडी बढाउने बताए । सोलुखुम्बु जिल्ला सहित ४ जिल्लाको अख्तियार हेर्ने सम्पुर्ण जिम्मेवारी प्रमुख जिल्ला अधिकारीलाई दिईएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भाग ४ को सुचना १ बमोजिम प्रमुख जिल्ला अधिकारीको कार्यक्षेत्र भित्र पर्ने भएकाले उक्त उजुरी दर्ता गरिएको सुचनाकर्ता श्रेष्ठले बताए ।

साभार – सोलुखुम्बु समाचार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार