उपनिर्वाचन अपडेट : अधिकांश स्थानमा नेकपा उम्मेद्धार विजयी, चितवनको तिन वडा कांग्रेसको पोल्टामा

  सुमेरु संबाददाता

सोलुखुम्बु, मंसिर १५

रिक्त रहेकोे ५२ पदमा मंसिर १४ गते भएको उपनिर्वाचनको मतपरिणाम धमाधम आईरहदा अधिकांश स्थानमा नेकपाका उम्मेद्धार विजयी भएका छन् । गुल्मीको रुरु क्षेत्र गाउँपालिका–६ मा वडाअध्यक्ष पदका लागि सम्पन्न उपचुनावमा नेकपाका उमेदवार गिरीप्रसाद सिञ्जाली विजयी हुनुभएको छ । बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर–२ को अध्यक्षमा नेकपाका ढालप्रसाद शेरचन विजयी हुनु भएको छ । नेपाली कांग्रेसले बैतडीबाट जितको खाता खोलेको छ ।

बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्रबहादुर चन्द विजयी हुनु भएको छ । यता, धुलिखेल नगरपालिका वडा नम्बर २ को अध्यक्षमा नेकपाका उम्मेदवार देवप्रसाद कोइराला विजयी हुनु भएको छ । भोजपुरको पौवादुङ्मा गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा नेकपाका उम्मेदवार जितेन्द्र राई विजयी हुनु भएको छ । सर्लाहीको हरिपूर्वा नगरपालिका १ मा आज वडाध्यक्षको लागि भएको उपचुनावमा समाजवादी पार्टीका उम्मेदवार श्यामबाबु राय ३४७ मत ल्याएर विजयी हुनुभएको छ ।

सल्यानको कुमाख गाउँपालिका–५ को वडाध्यक्षका लागि भएको उपचुनावमा नेकपाका धर्मे बुढाथोकी विजयी हुनुभएको छ । लमजुङको सुन्दरबजार नगरपालिका २ परेवाडाँडामा वडाअध्यक्ष पदको लागि भएको चुनावमा नेकपा उम्मेद्वार नवीनकुमार श्रेष्ठ भारी मतले विजयी हुनुभएको छ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको वडा नम्बर ८ को अध्यक्षका लागि भएको उपचुनावमा नेपाल कम्युनिष्ट पार्टीका केदारनाथ आचार्य विजयी हुनु भएको छ । रोल्पाको थबाङ गाउँपालिका वडा नम्बर १ मा नेकपाका उम्मेदवार जनकबहादुर बुढा मगर विजयी हुनु भएकोे छ । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा नेकपा विजयी भएको छ ।

प्युठान नगरपालिका वडा नं। २ को वडाध्यक्षमा नेकपाका उम्मेदवार विजयी भएका छन् । नेकपाका उम्मेदवार मुक्ति पोख्रेल ११२७ मत ल्याएर वडाध्यक्षमा विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ । दाङको घोराही उपमहानगरपालिका १६ मा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका उम्मेदवार ताराबहादुर डाँगीले नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार सुरेशबहादुर केसीलाई पराजित गर्दै वडा अध्यक्षमा विजयी हुनुभएको हो । यता फिदिम नगरपालिका–१, मा सतारुढ दल नेकपाका उम्मेदवार गजाधर भट्टराई भारी मत अन्तरले विजयी हुनुभएको छ । कपिलवस्तुको शिवराज नगरपालिका १० लालपुरमा भएको उपचुनावमा राजपाकी उम्मेदवार मन्जु मिश्रले जित हासिल गर्नु भएको छ । निर्वाचन कार्यालयका अनुसार खसेको १ हजार ७ सय २२ मतमध्ये ८ सय ६८ मत ल्याई उहाँ विजयी हुनुभएको हो ।

सिरहाको कल्याणपुर नगरपालिका–१२ को वडाध्यक्षमा नेकपाका उम्मेदवार दिलिपकुमार यादव विजयी हुनुभएको छ । नवलपरासी पूर्व नवलपुरको बौँदीकाली गाउँपालिका वडा नम्बर ५ मा वडा अध्यक्ष पदका लागि भएको उपचुनावमा सत्तारुढ दल नेकपाका उम्मेदवार विजयी भएका छन् । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ६ को अध्यक्षमा नेकपाका उम्मेदवार रामशरण थारु विजयी हुनुभएको छ । अर्घाखाँचीको मालारानी गाउँपालिका ३ मा नेपाली कांग्रेसका उम्मेदवार शोभाखर खनाल ११ सय ५९ मत प्राप्त गरेर विजयी हुनु भएको छ । यता, खोटाङको साकेला गाउँपालिका–३ खिदिमाको वडाध्यक्षमा नेकपाका उम्मेद्वार शिवकला राई विजयी हुनुभएको छ ।

शनिबार राति सम्पन्न मतगणना अनुसार कांग्रेसका उम्मेदवार शुक्र तामाङलाई पछि पार्दै नेकपाका उम्मेदवार शिवकला वडाध्यक्षमा निर्वा्चित हुनुभएको हो । खसेको ७९८ मतमध्ये शिवकलाले ३९१ मत र शुक्रले ३७४ पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उता, वडाध्यक्षका लागि उपचुनाव भएका चितवनका तीनवटै वडाहरुमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवारहरु पराजित भएका छन् । ती तीनवटा वडाहरुमा अघिल्लो पटक दुई वटामा नेपाली कांग्रेस र एउटामा तत्कालीन नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए । अहिले सबै तीनवटै वडामा कांग्रेसका उम्मेदवारहरु जितेका छन् ।

कास्कीमा २ मा विद्याको अग्रता, भक्तपुरमा कांग्रेस अघि

कास्की क्षेत्र नम्बर २ मा मतगणना चलिरहेको छ । शनिबार रातिदेखि चलिरहेको मतगणनाको पहिलो चरणको मत परिणाम आउँदा नेकपाकी उम्मेद्वार विद्या भट्टराईले अग्रता लिनुभएको छ । उहाँले ३ हजार २ सय ७६ मत पाउनुभएको छ । यस्तै, नेपाली काँग्रेसका खेमराज पौडेलले २ हजार १ सय १५ मत पाउनुभएको छ । भरतपोखरी क्षेत्रबाट मतगणना थालिएको हो । भरतपोखरी नेकपाका नेता स्वर्गीय रविन्द्र अधिकारीको जन्म क्षेत्र हो ।

त्यस्तै, भक्तपुर क्षेत्र नं १ (क) मा प्रदेशसभा सदस्यका लागि शनिबार सम्पन्न उपचुनावको मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ । चाँगुनारायण नगरपालिकाको ९ वटै वडा र भक्तपुर नगरपालिकाको वडा नम्बर १० गरी कूल १० वटा वडामा उपचुनाव भएको थियो । मतगणनामा आइतबार बिहान ७ बजे सम्म कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेलले २ हजार ३ सय १२ मतको अग्रता लिनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार