पत्ताले घुमेर फर्किए, मुख्यमन्त्री राई

  सुमेरु संबाददाता

सोलुखुम्बु, मंसिर १५

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई सोलुखुम्बुको एक पर्यटकीय गन्तव्य मानिएको पत्ताले डाँडा घुमेर फर्किएका छन् । आईतबार विहान करिब १० बजेको समयमा हेलिकप्टरमा पत्ताले आईपुगेका मुख्यमन्त्री राई झण्डै १५ मिनेट हिमश्रृखंलाको दृष्र्यावलोकनमा रमेका थिए ।

ओखलढुंगाबाट निर्वाचित प्रदेश सांसद अम्बिरबाबु गुरुङ सहित आएका राईले पत्तालेमा बन्ने भ्यूटावर स्थलको अनुगमन समेत गरेका छन् । ४ बर्ष अघि नेपाल सरकारबाट विनियोजित १५ लाख बजेटमा भ्यूटावरको डिपिसी सम्मको काम भएको छ । प्रचुर पर्यटकीय संभावना रहेको पत्तालेको विकासमा भ्यूटावरले महत्वपुर्ण भूमिका निर्वाह गर्ने भएकाले प्रदेश सरकारले चालु आर्थिक बर्षमा ५० लाख बजेट विनियोजन गरेको मुख्यमन्त्री राईले जानकारी दिए ।

भोजपुर कार्यक्रममा लागि उडेका मुख्यमन्त्री राईसहितको टोली निर्धारित कार्यक्रम विनै पत्ताले घुमेर फर्किएको स्थानीय होमस्टे व्यवसायी प्रकाश मगरले बताए । उनले भने, ‘मुख्यमन्त्री राई आउने कुनै तालिका थिएन, एक्कासी विहान आउने खबर पाएपछि स्वागत गर्न पायौँ, उहाँले पत्तालेबाट देखिने रमणीय दृष्र्यावलोकन गर्नुका साथै निर्माणाधिन भ्यूटावर स्थलको अनुगमन गर्नुभएको छ ।’

पत्तालेबाट सगरमाथाको आकर्षण दृष्यमात्र हैन, झण्डै एक दर्जन हिमाल देख्न सकिन्छ । नुम्बुर, लोत्से, गौरीशंकर, मेरापिक, कार्यालुङ, मकालु, कञ्चनजंगा, नुम्बुर, चोलाच्छे, ताबोचे, थामसेर्कु, पुमोरी, खुम्बुचे, चोयूलगायत हिमाल पत्तालेबाट देखिन्छ भने सुर्योदयको दृष्य लोभलाग्दो हुन्छ । गौरीटाप, चाँगेस्थानलगायत धार्मिक स्थलका रुपमासमेत चिनिएको पत्तालेमा विभिन्न प्रजातिका लालीगुराँस र जडीबुटीसमेत पाइन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार