उपनिर्वाचन अपडेट : प्रतिनिधि सभा र प्रदेश सभाको मतपरिणाम

  सुमेरु संबाददाता

सोलुखुम्बु, मंसिर १६

कास्की

कास्की निर्वाचन क्षेत्र नम्बर २ मा नेकपाकी उम्मेदवार विद्या भट्टराई (अधिकारी) विजयी हुनुभएको छ ।

भट्टराईले नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई ८ हजार ४ सय ३ मतले पराजित गर्नुभएको हो । भट्टराईले २४ हजार ३ सय ९४ मत प्राप्त गर्दा पौडेलले १५ हजार ९ सय ९१ मत प्राप्त गर्नुभएको हो ।

भट्टराई विजयी भए लगत्तै कांग्रेस उम्मेदवार पौडेलले मतदातालाई धन्यवाद दिनुका साथै भट्टराईलाई खादा ओढाएर बधाइ तथा आगामी कार्यकालको शुभकामना समेत व्यक्त गर्नुभएको छ ।

बागलुङ

प्रदेशसभा सदस्यका लागि बागलुङ क्षेत्र नम्बर २ को प्रदेश ‘ख’ मा भएको उपनिर्वाचनमा बामगठबन्धनले विजयी हासिल गरेको छ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको समर्थन पाएको राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमबिक्रम शाहीले नेपाली कांग्रेसका उम्मेदवार जीत शेरचनलाई २०९७ मत अन्तरले पराजित गरेका हुन्।

शाहीले ११२३५ मत प्राप्त गरे भने शेरचनले ९१३८ मत प्राप्त गरे। यस क्षेत्रमा २०७४ को निर्वाचनमा पनि साविकको नेकपा एमाले र माओवादी केन्द्रको समर्थनमा उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्ती ११,८ ८४ मत प्राप्त गरी विजयी भएका थिए।

त्यसबेला पनि प्रत्यासी रहेका कांग्रेसका शेरचनले ८, ६६४ मत प्राप्त गरेका थिए। उक्त चुनावमा अहिले अन्तर भने १ हजार भन्दा बढीले घटेको छ। सांसद घर्तीको असामयिक निधन भए छि यस क्षेत्रमा उपचुनाव भएको हो।

दाङ

प्रदेशसभा सदस्यका लागि भएको उपनिर्वाचनमा दाङ क्षेत्र नम्बर ३ ‘ख’ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेद्‍वार विमला कुमारी खत्री निर्वाचित भएकी छिन् । उनी २४,२८६ मत प्राप्त गरी निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए।

विमलाले निकटतम् प्रतिद्वन्दी भन्दा ५१०४ बढी मत पाइन्।नेपाली कांग्रेसका उम्मेदवार केशवराज शर्मा आचार्यले १९,१ ८२ मत प्राप्त गरे। साझा पार्टीका उम्मेदवार शिवकुमार चौधरीले २६६, राप्रपाका भूपाल रावतले २२५, समाजवादीका डिल्ली बहादुर डाँगीले १५४, राष्ट्रिय प्रजातन्त्र पाटी संयुक्तका छोटी लाल थारुले १३८,मत पाए ।

भक्तपुर

भक्तपुर क्षेत्र नम्बर १ (क) मा प्रदेशसभा सदस्यका लागि भएको उपचुनावमा नेपाली कांग्रेस विजयी भएको छ । उपचुनावमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेमकिपालाई पछाडि पार्दै कांग्रेसका उम्मेदवार कृष्णलाल भडेँलले १३ हजार ४४९ मत ल्याएर विजयी हुनुभएको हो ।

निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार डि.पि. ढकालले ११ हजार २०६ मत प्राप्त गर्नु भएको छ भने नेमकिपाका उम्मेदवार निरज लवजूले ५ हजार ८२९ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का श्यामप्रसाद नेपालले ५७४ र साझा पार्टीका सुरज प्रधानले ३८५ मत प्राप्त गरेका छन् ।

धरान

धरान उपमहानगरपालिकामा मेयरका लागि भएको उपचुनावमा कांग्रेसले अग्रता लिइरहेको छ ।

पछिल्लो मत परिणाम अनुसार कांग्रेसका तिलक राईको २१ हजार ३ सय ११ मत आएको छ भने नेकपाका प्रकाश राईले २० हजार ८ मत पाउनु भएको छ ।

पछिल्लो परिणाम अनुसार धरानमा नेकपाले मतान्तर घटाउँदै गएको छ । कांग्रेस नेकपाभन्दा १३०३ मतले अगाडि छ ।

धरानमा जम्मा ५५ हजार ११ मत खसेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार