सोताङ र महाकुलुङमा सिधा यातायात

  सुमेरु संबाददाता

सोलुखुम्बु, मंसिर १६

दिप्लीघाट स्थित दुधकोशी नदिमा मोटरेबल पुल नहुदाँ कष्टकर यात्रा गर्न बाध्य बनेका सोलुखुम्बुको सोताङ र महाकुलुङ क्षेत्रका स्थानीयले दुधकोशीमा ह्युम पाईप संगै सिधा यातायात सेवा लिन शुरु गरेका छन् ।

सोताङ र थुलुङ दुधकोशी गाउँपालिकाको सिमाना दिप्लीघाट स्थित दुधकोशी नदिमा ह्युम पाईप राखेपछि सोमबारबाट सिधा यातायात संचालनमा आएको हो । नदिमा पानीको बहाव बढेसंगै झिकिएको ह्युम पाईप पानीको सतह घटेसंगै पुनः राखिएको हो ।

दुधकोशीमा २१ वटा ह्युम पाईप राखेपछि सवारी परिर्वतन गर्नुपर्ने बाध्यता हटेको महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराँतीले बताए । सिधा यातायात संचालन नहुदा यात्रुले सास्ती खेप्नुपरेको थियो भने खाद्यान्न तथा निर्माण सामाग्रीको मुल्यमा बृद्धि भएको थियो ।

सिधा यातायात संचालन भएसंगै सर्वसाधारणले खुसी व्यक्त गरेका छन् । दुधकोशी पारिका सर्वसाधारण अब सल्लेरी र काठमाण्डौसम्म गाडी फेरबदल नगरि पुग्नसक्ने वातावरण सृजना भएको छ ।

यसैबीच, गत बर्खामा संचालनमा आउने गरि निर्माण गर्ने भनिएको बेलिब्रिजको काम अघि बढ्न सकेको छैन् । गत चैत्रमा ओखलढुंगाको जयरामघाटमा प्रयोग गरिएको मौज्दात बेलिब्रिजको सामाग्री ढवानी गरिएपनि काम अघि बढ्न नसकेको हो ।

समयमै बेलिब्रिज निर्माण भएको भए ह्युम पाईप राख्ने, निकाल्ने झण्जट हटिसक्थ्यो । उद्यपी, आगामी बैशाख सम्म बेलिब्रिज निर्माण सक्ने गरि छिट्टै काम थाल्ने बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार