देउसाका ३ विद्यालयमा दिवा खाजा

  सुमेरु संबाददाता

सोलुखुम्बु, मंसिर १९

विद्यालयमा जङफुडको प्रयोग अत्याधिक बढिरहेको बेला न्यूनिकरणका साथै विद्यार्थीको नियमितता बढाउनका लागि सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ८ देउसाका ३ विद्यालयमा पनि दिवा खाजा खुवाउन शुरु गरिएको छ ।

बालबालिकाले खाजामा जंकफुडको प्रयोग बढाउन थालेपछि वडा कार्यालयको सहयोगमा शिशुकल्याण, सरस्वती र कालिका आधारभुत विद्यालयमा दिवा खाजा खुवाउन शुरु गरिएको छ । बालबालिकालाई खाजा बोक्ने र अभिभावकलाई खाजा बनाउने झन्जटलाई हटाउदै बाल स्वास्थ्यलाई पनि ख्याल राख्दै दिवा खाजा शुरु गरिएको हो ।

दिवा खाजाले विद्यार्थीको सिकाई उपलब्धिमा समेत बृद्धि हुने आशा राखिएको छ । ३५ जना विद्यार्थी रहेको शिशुकल्याण् आधारभूत विद्यालयमा आईतबारबाट दिवा खाजा शुरु गरिएको छ । खाजाको रुपमा स्थानीय उत्पादनलाई जोड दिईने निमित्त प्रधानाध्यापिका तारादेवी राई बताउछिन् ।

गाँउघरमा प्राय जसो अभिभावकहरु आफ्ना बालबच्चालाई खाजा खानका लागि पैसा दिएर पठाउने गर्छन । पाएको पैसाले बालबालिकाको पहिलो रोजाई प्याकेटका खानेकुरा हुने भएकाले उनीहरुको स्वास्थ्यलाई समेत ध्यानमा राख्दै दिवा खाजा खुवाउन शुरु गरिएको कालिका आधारभुत विद्यालयका शिक्षक चुडामणी केसीको भनाई छ ।

सरस्वती आधारभुत विद्यालयमा पनि दिवा खाजा कार्यक्रमको तयारी सकिएपनि शुरु गर्न बाँकी रहेको छ । दिवा खाजाले विद्यार्थीको सिकाईमा सकारात्मक प्रभाव पार्ने आशा लिएको प्रध्यानाध्यापक धन कुमारी राईले बताईन् ।

यसअघि थुलुङ दुधकोशी गाउँपालिका ९ लोखिमको एक विद्यालय जनता माविमा दिवा खाजाको अभ्यास गरिसकिएको छ । वडा नं ८ का कार्यवहाक अध्यक्ष तिलक राईले चालु आर्थिक बर्षको ३ लाख बजेटबाट दिवा खाजा शुरु गरिएको जानकारी दिए ।

दिवा खाजाका लागि अभिभावकबाट दिनको १० रुपैया र शिक्षकहरुबाट २० रुपैया संकलन शुरु गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार