मेडपा कार्यक्रम : सोलुमा तिन सय लघुउद्यमी थपिने

दुई सय लघुउद्यमीको स्तरोन्नती गरिदै

  सुमेरु संबाददाता

सोलुखुम्बु, मंसिर २४

चालु आर्थिक बर्ष २०७६–७७ मा गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेडपा)ले ५२३ उद्यमी उत्पादन तथा स्तरोन्नतीमा ९० लाखको कार्यक्रम संचालन गर्ने भएको छ । ७ गाउँपालिका र एक नगरपालिकामा ३०५ नयाँ उद्यमी उत्पादन र २१८ पुराना उद्यमीको स्तरोन्नतीका लागि कार्यक्रम संचालन गरिने घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुले जनाएको छ ।

दुई कलष्टरमा संचालन गरिने कार्यक्रमका लागि खुला प्रतिस्प्रर्धाबाट दुईवटा संस्था छनौटमा परेका छन् । लघुउद्यम विकास कार्यक्रम संचालनका लागि प्राविधिक तथा आर्थिक प्रस्ताव मुल्यांकन उपसमितिले ६ वटा संस्थाबाट रामेछापको ग्रामिण विजनेस प्रमोशन र ललितपुरको सहयोगी संस्था नेपाल छनौटमा परेका छन् ।

प्रदेश नं १ अन्तरगत वन तथा वातावरण मन्त्रालयले कार्यक्रम संचालनका लागि ९८ लाख ५ हजार बजेट पठाएपनि घटाघट प्रस्तावनाको आधारमा दुईसंस्था छनौट भएको र ति संस्थाले पेश गरेको बजेट जोड्दा ९० लाख पुग्ने घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।

नेचासल्यान गाउँपालिकामा ३७ नयाँ, २७ उद्यमीलाई स्तरोन्नती गरिनेछ भने थुलुङ दुधकोशी गाउँपालिकामा ४५ नयाँ, ३० पुरानो उद्यमीलाई स्तरोन्नती गरिने छ । त्यस्तै, महाकुलुङ गाउँपालिकामा नयाँ ३७ र पुरानो २७ र सोताङ गाउँपालिकामा नयाँ ३७ र पुरानो २७ गरि कलष्टर एकमा १५६ नयाँ उद्यमी उत्पादन तथा १११ पुराना उद्यमीलाई स्तरोन्नती गर्ने लक्ष्य राखिएको छ ।

अर्को कलष्टर अन्तरगतका स्थानीय तह सोलुदुधकुण्ड नगरपालिकामा नयाँ ४५ र पुरानो ३१, खुम्बुपासाङल्हमू गाउँपालिकामा नयाँ ३० र पुरानो २०, लिखुपिके र माप्यदुधकोशी गाउँपालिकामा नयाँ ३७ र पुरानो २८ गरि १४९ नयाँ उद्यमी उत्पादन तथा १०७ उद्यमीलाई स्तरोन्नती गर्ने कार्यक्रम तर्जुमा गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार