अब लोक कलाकारको आफ्नै सहकारी

  सुमेरु संबाददाता

सोलुखुम्बु ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले सहकारीको अवधारणा कार्यान्वयनका लागि अघि बढाएपछि लोक कलाकारको आफ्नै सहकारी स्थापना हुने भएको छ । यसअघि अवधारणा बाहिर आएपनि रमेश बिजीले प्रतिष्ठानको नेतृत्व सम्हालेपछि सहकारीको काम अघि बढेको हो । सहकारी दर्ता प्रक्रिया अघि बढाउन मंसिर १६ गते बसेको केन्द्रीय कार्य समितिको बैठकले पुर्व अध्यक्ष चन्द्र शर्मालाई संयोजक बनाउने निर्णय गरेको थियो । सोही अनुसार पुर्व अध्यक्ष शर्मालाई पत्राचार गरिसकिएको छ ।

‘आजको सुरक्षित बचत, भोलीको सुनौलो भविष्य’ नारा सहित लोक संगीत बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था निकट भविष्यमै संचालनमा आउने प्रतिष्ठानले जनाएको छ । अध्यक्ष बिजीले भने, ‘कामको शुरुवात गरेका छौ । उमेर हुदा कमाउने रमाउने कलाकारको जीवनको उत्तरार्धमा केही नहुने यर्थाथलाई ध्यानमा राखेर सहकारीको अवधारणा अघि बढाएका हौ । अब कलाकारले दोहोरी साँझबाट, स्टेज कार्यक्रमबाट पाएको पारिश्रमिकबाट बचाएर केही रकम बचत गर्नेछन् । अप्ठ्यारो परेको बेलामा ऋण लिनेछन्, नपरे बचत गर्नेछन् । जुन बचतले बुढेशकालमा सहयोग मिल्नेछ ।’ देशभरका प्रतिष्ठानमा आबद्ध कलाकारलाई शेयर वितरण गर्ने तयारीमा रहेको अध्यक्ष बिजीले बताए ।

निबर्तमान अध्यक्ष बद्रि पंगेनीको कार्यकालमा केन्द्रीय घर निर्माण गरेको प्रतिष्ठानले सहकारी र लोकसंगीतको कक्षा संचालनको अवधारणालाई कार्यान्वयनमा लगेको छ । पोखरामा सम्पन्न सातौँ महाधिबेशनमा पराजय भएका कलाकारलाई पनि समाबेश गर्दै अवधारणा कार्यान्वयनमा लागेको अध्यक्ष बिजीले बताए ।

सहकारीको काम अघि बढाउन संयोजक चन्द्र शर्मालाई पठाईएको पत्र

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार