सोलुखुम्बु : किवि जोन कार्यक्रमको क्षेत्र घट्यो

  सुमेरु संबाददाता

सोलुखुम्बु, पुस २१

चालु आर्थिक बर्ष २०७६–७७ देखि सोलुखुम्बुमा कार्यान्वयनमा आएको प्रधानमन्त्री कृषि आधुनिकिकरण अन्तरगत किवि जोन कार्यक्रमको क्षेत्र घटाईएको छ । जिल्लास्तरको सरोकारवालाहरुको प्रस्ताव र मागको आधारमा किवि खेतिको जोन कार्यक्रम स्विकृत भएको कार्यक्षेत्र कलष्टर नमिलेको भन्दै कटौति गरिएको छ । जोन कार्यक्रमबाट खुम्बु पासाङल्हमु गाउँपालिका र माप्य दुधकोशी गाउँपालिका हटाईएको छ ।

गत पुस ११ गते जिल्ला समन्वय समितिको कार्यालयमा भएको जनप्रतिनिधि सहभागी छलफलबाट भौगोलिक हिसावले कार्यक्रम संचालनका लागि कठिन भएकाले माप्य दुधकोशी र खुम्बु पासाङल्हमु गाउँपालिकाको भु–भाग हटाउने निर्णय गरिएको जोन कार्यान्वयन इकाई कार्यालय सोलुखुम्बुले जनाएको छ । अब किवि जोन कार्यक्रम सोलुदुधकुण्ड नगरपालिका, थुलुङ दुधकोशी गाउँपालिका र नेचासल्यान गाउँपालिकामा मात्र संचालन हुनेछ ।

यसैबीच, किवि जोन कार्यक्रम कार्यान्वयनका लागि सूचीकृतका लागि माग गरिएको आवेदनमा ८१ जना किवि कृषक तथा फार्म सूचीकृत भएका छन् । उनीहरुको सामूहीक भेला डोकेर संचालक समित गठन गरिने र स्थलगत अनुगमनपछि अनुदानमा दिईने सामाग्री र विरुवाका लागि कृषक र फार्म छनौट गरिने जोन कार्यान्वयन इकाई कार्यालय सोलुखुम्बुले जनाएको छ । सूचीकृत भएकामध्ये अधिकांश कृषक सोलुदुधकुण्ड नगरपालिका भित्रका रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार